जनप्रिय आविका विद्यार्थीलाई सेन्ट्रल सेन्चुरीको साथ

लायन्स क्लब अफ सेन्ट्रल सेन्चुरीले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३, सिरिन्डाँडामा रहेको जनप्रिय आधारभूत स्कुलका विद्यार्थीलाई सहयोग गरेको छ ।

डिस्ट्रिक्ट ३२५ एम रिजन १, जोन १ अन्तर्गत रहेको सेन्चुरीले शिशु कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीलाई न्यायो पोशाका वितरण गरेको छ । सँगसँगै माता मनकामना डेन्टल केयर प्रालि पोखराको सहयोगमा विद्यार्थी र अभिभावकको मुख तथा दाँतको सित्तैमा जाँच गरिएको छ ।

कार्यक्रममा प्रोजेक्ट एक्सपोर्ट शारदामोहन काफ्लेले लायनवादको उद्देश्यअनुरुप सेन्ट्रल सेन्चुरीले काम गरिरहेकोमा सन्तोष व्यक्त गरे । माता मनकामना डेन्टलका सञ्चालकसमेत रहेका लायन्स सेन्ट्रल सेन्चुरी अध्यक्ष युवराज पौडेल (अर्जुन)ले क्लबले योजना बमोजिमका कार्यक्रम गरिरहेको जनाए ।

उनले मुख तथा दाँत स्वास्थ्यबारे समेत प्रकाश पारे । उनले भने, ‘मुख र दाँत मानिसको व्यक्तित्व निर्माणमा पनि निकै महत्वपूर्ण छन् । यसका समस्यालाई उपेक्षा गर्नु हुँदैन ।’

कार्यक्रममा जोन १ का चेयर पर्सन डिल्लीराम पराजुली, सेन्ट्रल सेन्चुरीका प्रथम उपाध्यक्ष राजु भण्डारी, पूर्व अध्यक्ष रमेशमान श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र पाण्डे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी रिजाल पौडेल, सिर्जना माविका निमित्त प्रधानाध्यापक तारापति पौडेल लगायतले बोलेका थिए ।