एसओएस गण्डकीका विद्यार्थीले देखाए प्रतिभा

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा प्रतिभा प्रस्फुटन कार्यक्रम भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

नेपालीका महान् पर्व बडादसैँ र दीपावलीको पूर्वसन्ध्यामा विद्यार्थीमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले माध्यमिक तहका विद्यार्थीका बीचमा प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।

समारोहमा विद्यार्थीहरूले प्रतियोगितात्मक र अप्रतियोगितात्मक दुवै कला प्रस्तुति प्रदर्शन गरेका थिए । आधारभूत र माध्यमिक गरी दुई तहमा विभाजित उक्त प्रतिभा प्रस्फुटन कार्यक्रममा विद्यार्थीहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता–वाचन, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे ।

समारोहमा विद्यार्थीले साहित्यकार कमल कोइरालाको रचना र गायक रामभक्त जोजिजूको सङ्गीतमा रहेको ‘एसओएस शुभारम्भ गान’समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थीको समूहले स्वस्तिवाचन पनि गरेको थियो ।

कक्षा १२ की छात्रा दीपेङ्का बिजुच्छेले नेवारी संस्कृतिमा प्रचलित शास्त्रीय शैलीको कुमारी नृत्य प्रस्तुत गरिन् भने कक्षा ११ का विद्यार्थीले वाल्मीकृत रामायणमा आधारित परम्परागत भजन देखाए । साङ्गीतिक प्रस्तुतिको मूल्याङ्कन नृत्य तथा गायन प्रशिक्षकत्रय सङ्गीता आले, सुजन थापामगर र मोहन तामाङले गरेका थिए ।

कार्यक्रममा आधारभूत तहतर्फ स्नेहा गुरुङ प्रथम, जेनिया गुरुङ द्वितीय, रोजमेरी खड्की तृतीय तथा आयुषा सुवेदी सान्त्वना बने । माध्यमिक तह (कक्षा ९ र १०) तर्फ सुप्रभा भुसाल प्रथम, आसिका बराल द्वितीय, स्मृति ढकाल तृतीय र अनुपमा अधिकारी सान्त्वना बने ।
माध्यमिक तह (कक्षा ११ र १२) तर्फ दीपेङ्का बिजुच्छे, रीतिका थापा र सुक्रिया गुरुङ प्रथम, प्रसन्न सुवेदी द्वितीय, सन्दीप शर्मा तृतीय तथा अनन्त आचार्यको भजन समूह सान्त्वना भए । विजयी प्रतियोगीलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री थापाले साक्षरतामा मुलुकमै उत्कृष्ट मानिने प्रदेशको एउटा उत्कृष्ट विद्यालयको अनुभूति कार्यक्रमले गराएको जनाए । गण्डकी प्रदेशले विद्यालयहरूमा ‘फ्राइडे फर फ्युचर’ भन्ने नवीन अवधारणा ल्याउने तयारी गरिरहेको उनको भनाइ छ ।

‘कक्षा १२ सक्नासाथ विदेश जान हतारिने युवा विद्यार्थीको समूहलाई देशमै रहने वातावरणको सिर्जना गर्न देशको शिक्षानीति नै परिवर्तन गर्नुपर्ने देखिन्छ,’ मन्त्री थापाले भने, ‘त्यसका लागि अब शिक्षण पद्धतिमै परिवर्तन ल्याउने विषयमा सबैले सोच्नु आवश्यक छ ।’ अनाथ, असहायदेखि समाजका अन्य बालबालिकाको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको एसओएस गण्डकीलाई आगामी दिनमा प्रदेश सरकारले उपलब्ध गराउँदै आइरहेको आर्थिक सहयोगमा वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि उनले गरे ।

समारोहमा यस वर्षको एसइईमा एसओएस गण्डकीबाट ४ जिपिए प्राप्त गर्न सफल सचेत सुवेदी तथा कक्षा १२ को बोर्ड परीक्षामा ३.९६ जिपिए प्राप्त गरी नेपाल टप कुशल तिवारीलाई जनही २० हजारसहित ‘एसओएस रत्न’द्वारा सम्मानित गरियो । कार्यक्रममा यस वर्ष इन्जिनियरिङ, चिकित्साशास्त्र र नर्सिङतर्फको स्नातक तहको प्रवेश परीक्षामा देशमै उत्कृष्टता हासिल गर्ने एसओएस गण्डकीका विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।

कक्षा ९ का छात्रा आज्ञा शर्मा र सहारा सुवेदीले आधारभूत तथा स्मारिका न्यौपाने र नेरिन बरालले माध्यमिक तहको कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयमा रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीले उक्त कार्यक्रमको सहजीकरणमा गरेका थिए । बाल दिवसको उपलक्ष्यमा यसपूर्व गत भाद्र २९ गते विद्यालयले प्राथमिक तहका विद्यार्थी सम्मिलित छुट्टै प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको थियो ।