जसले नेपालका हिमालका फोटो १८१ पटक रुसमा प्रदर्शन गरे

चौरासी वर्षको हुँदा हिन्दू समाजमा भव्य रुपमा चौरासी पूजा गर्ने गरिन्छ । यो उमेर नातिनातिना हेर्दै घरमा आराम गर्ने हो । नेपालबाट चार हजार किमी टाढा रहेको रुसको सामराका बासिन्दा युरी रोडिचेभमा भने यो लागू हुँदैन ।

८४ वर्षीय रोडिचेभ अहिले पोखरामा हुनुहुन्छ । श्रीमतीका साथ नेपाल आउनुभएका उहाँको पुस्तक ‘द हिमालयज’ शनिबार पोखरामा सार्वजनिक हुँदै छ । नेपालका हिमाल हेर्न र चाहे जस्ता तस्बिर खिच्न उहाँ अहिलेसम्म ३२ पटक नेपाल आइसक्नुभएको छ ।

श्रीमती आन्ना माकारोभासहित गोरखापत्रसँग कुरा गर्दै उहाँले आफू नेपालीको साथी भएको भन्दै पाहुना नमान्न आग्रह गर्नुभयो । विश्व पर्यटन दिवसका दिन शुक्रबार उहाँले नेपालको हिमाल क्यामेरामा कैद गर्दाका केही रोमाञ्चक क्षणसमेत सम्झनुभयो ।

रुसको सामराका बासिन्दा रोडिचेभ १४ वर्षको उमेर हुँदै फोटोग्राफीतर्फ लहसिनुभएको थियो । विख्यात रुसी लेखक एवम् फोटोग्राफर निकोलस रोरिकका तस्बिर र पेन्टिङले उहाँलाई यसरी आकर्षित गरेकी जीवनको बाटो नै पृथक बन्यो । विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स इन्जिनियर उत्तीर्ण उहाँ हिमाली क्षेत्रको तस्बिर खिच्नमै समर्पित हुनुभयो ।

सन् २००३ मा ६३ वर्षको हुँदा उहाँ सात हजार ४५ मिटर अग्लो लाक्पारी हिमाल चुलीमा पुग्नुभयो । त्यसको उद्देश्य थियोः सगरमाथाका व्यवसायिक तस्बिरहरु खिच्नु । सगरमाथाको तस्बिर खिच्न उहाँ तिब्बतसमेत पुग्नुभएको छ । रोडिचेभ भन्नुहुन्छ, “२०१७ मा तिब्बत जाँदा दुई साता बसियो । एक दिन बल्लतल्ल मौसम खुल्यो र समरमाथाको एउटा फोटो खिचेँ ।”

२००४ मा तस्बिर खिच्न जाँदा रोडिचेभले मृत्युलाई नजिकबाट नियाल्नुभयो । हुरी र वर्षात् भएपछि हिमालमै तीन दिनसम्म खाना, पानीबिना बस्नु प¥यो । “आँधी र पानी रोकिएपछि तीन दिनमा साथीहरुसँग भेट भयो । अब बाचिन्नँ भन्ने लागेको थियो,” उहाँले सम्झनुभयो ।
रोडिचेभको यात्रामा श्रीमती आना पनि सँगै हिड्ने गर्नुभएको छ । हिमाल यात्रा र फोटोग्राफीमै आनन्द लिने गरेको आना उल्लेख गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो हाम्रो जीन्दगी हो । हिमालमा हामी भगवान्को सिर्जना देख्छौं । हाम्रो दृष्टिकोण पनि यसले फराकिलो बनाउँछ ।”

युरीको पुस्तक शनिबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लेखक÷फोटोग्राफर युरीले सार्वजनिक गरे । पाण्डेले नेपालीले वृद्धहरुका लागि देवा सेवा केन्द्र खोल्ने उमेरमा युरीले गरेको काम प्रशंसनीय भएको बताए ।

द हिमालयजको प्रकाशनका लागि नेपाल पर्वतारोहण सङ्घ, फ्रेन्डस् एड्भेन्चर टिम, होली हिमालयज र नेपाल पर्यटन बोर्डले सहयोग गरेका छन् । एक सय ८४ पेजको पुस्तक मञ्जरी शाक्यले सम्पादन गर्नुभएको हो । म्याप हाउस काठमाडौंले प्रकाशन गरेको पुस्तकको मूल्य तीन हजार पाँच सय छ ।

सन् २००३ मार्चदेखि २०२४ मार्चसम्मका ४२ फोटो प्रदर्शनीमा राखिएका छन् । ती फोटो अब स्थायी रुपमा संग्रहालयमा रहने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् । २०११ बाट रुसका एक सय ६१ सहरमा एक सय ८१ पटक उहाँका यी फोटो प्रदर्शनी भइसकेका छन् । आठ लाखभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका छन् । तीनै तस्बिर अवलोकन गर्नेहरुको सहयोग, पोस्टर र पुस्तकको बिक्रीबाटै उहाँको जीवन चलेको छ । फोटो, कला र प्रकृतिसम्बन्धी उहाँका १४ पुस्तक प्रकाशित छन् भने चार प्रकाशोन्मुख छन् ।