अम्बिकाको नयाँ तीजगीत सार्वजनिक (गीतसहित)

बाँडियो घर, बाँडियो खेत
बाँडिएनन् आमाका दुःख बरी लै

चेली र माइतीको सम्बन्धको पर्व तीज आउनुअघि नै तीजगीतहरु सार्वजनिक भइरहेका छन् । तीजमा आमाबा, दाजुभाइ हुनेहरु दुःख, संघर्ष र सुख माइती आएर साट्छन्, नहुनेले सुखदुःख साट्ने माध्यम तीजगीत बनेका छन् ।

सम्पत्ति बाँडिए पनि संघर्ष बाडिँदैन, गाउँठाउँ बन्जर हुँदै जाँदा आमाबाका दुःख पनि बाडिदैनन् । यही मर्मलाई तीजगीतमा ल्याएकी छन् अम्बिका भण्डारीले । बर्सेनि मौलिक तीजगीत बजारमा ल्याउने भण्डारीले यसपालि ‘बाँडिएन आमा दुःख बरी लै….’ बोलको गीत बजारमा ल्याएकी हुन् ।

उनकै युट्युब च्यानलबाट शुक्रबार गीत सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द, लय र निर्देशन अम्बिकाकै छ । यसको एरेन्जरमा दिवस थापामगर छन् भने बासुरी रेकर्डिङ स्टुडियो पोखरामा रेकर्ड गरिएको गीतको भिडियो छायांकन गणेश सापकोटाले गरेका हुन् ।

नृत्यमा मुना गुरुङ रहेकी छन् भने कलाकारमा दिवाकर भण्डारी (सापटी काका), प्रमिला तुलाचन, युवराज भण्डारी, पोखरेली धुर्मुस, रमेशबाबू तिम्सिना, गोबिन्द पराजुली, महेश्वर बराल लगायत छन् । भिडियो सम्पादन सुवास अम्गाईले गरेका हुन् भने फलानो क्रियसनले उत्पादन गरेको हो ।

मोडलिङमा भावना पन्त बिष्ट, सपना तिवारी छन् । बाल कलाकारमा स्वराजसिंह ढुंगाना छन् ।