
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीले आयोजना गरेको शब्द खेल प्रतियोगिता पोखरा–१५ मा रहेको रेन्बो एकेडेमिक होम्स मावि प्रथम भएको छ । प्राथमिक तह स्तरीय प्रतियोगितामा दोस्रो बाल प्रभात मावि र तेस्रो केफ मावि बने ।
बिहीबार र शुक्रबार गरी दुई दिन भएको प्रतियोगितामा सबलाइम मावि, बेसलाइन मावि र जुनियर सिटिजन्स एकेडेमी सान्त्वना भएका छन् । हरेक विद्यालयका समूहमा तीन जना विद्यार्थी सहभागी थिए ।
प्रतियोगितामा विजयी विद्यार्थी र विद्यालयलाई समेत ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा प्याब्सन कास्कीमा आवद्ध ५५ स्कुल सहभागी थिए । प्रतियोगिताको निर्णायकमा नारायण पराजुली, शिवहरि सुवेदी, शिशिर ढुंगाना र हरि ढुंगाना थिए ।
कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले यस्ता कार्यक्रमले विद्यार्थीलाई सिर्जनाशील बन्न र भाषिक क्षमता विकास गर्न सघाउने विचार राखे । नेपाली भाषा शिक्षक परिषद्का अध्यक्षसमेत रहेका कार्यक्रम संयोजक डिल्लीराम अर्यालले शब्द खेल रमाइलो प्रतियोगितामात्र नभई भाषिक विकासको माध्यम भएको जनाए । ‘यस्ता गतिविधिले भाषाका चारै सीप सुनाइ, बोलाइ, खेलाइ र पढाइको विकासमा सघाउँछन्,’ उनले भने ।
प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन कास्की सचिव पुष्पराज पराजुलीले पनि बोलेका थिए ।