माओवादी हिजो र आज – दोषी को?

कुनै गाँउमा वृद्द  दम्पती बस्दथे। ती  मध्य बुढा सिकिस्त बिरामी परेछन र उपचारको लागि नजिकैको स्वास्थ्य केन्द्रमा गएछन। चिकत्सकले  विस्तृत जाच गरे। उमेर र रोगको प्रकृति अनुसार बुढाको अन्तिम समय आएको रहेछ। चिकत्सकले भने- भोली बिहान नहुँदै तपाईं भगवानकोमा जानु हुन्छ। बुढा-बुढी दु:खी हुँदै घर फर्केछन। घरमा आए पछि बुढाले विगत संझदै आफ्नो असल र खराव कर्महरुको धुमिल संमरण गरे। मनमनै  सोचे- अब बाच्नु आजको रात मात्र हो। आज रातभरी बुढी संग कुरा गरेर बिताउदछु। बुढीले चुलो-चौकाको काम सिद्धाएर बुढो नजिक आईन र सुत्ने सुर-सार गर्न लागिन। त्यो देखेर बुढाले भने- सुती हाल्छौ र? एक छिन कुरा गरौ। त्यो सुनेर बुढीले भनिछन- तिमी त भोली बिहान उठ्नु छैन। म त भोली बिहानै उठेर धैरै काम गर्नु पर्दछ। त्यसैले म त समयमै सुत्नु पर्दछ। 

माथिको भनाई प्रतिकारात्मक हो। तर, अहिलेका नेपालका वृद्द नेता पुस्ता आफ्नो जीवनको उद्दरार्थमा छन। पहिले देश र जनताको लागि दु:ख गरे। ती दु:खको प्रतिफल सत्ता, शक्ति, सान, मान र धन सम्पत्तिमा रुपान्तरण पनि गरे। जीवन खासा तरिकाले भोगे र अझै भोग्दैछन।  संन्तती र आफन्तहरुको लागि बाँकी जीवन सुनिस्चित गरी दिए। बाँकी रहे जनता। ती जनता माथि उल्लेखित बुढी जस्तै भोली पनि जिउनु छ। भोक, प्यास, पिडा, रोग, विभेद, अपहेलना र अभाव र तिरस्कारसंग पौठे जोरी खेल्दै जिउनु छ। अर्थात नमरे सम्म बाँच्नको लागि लड्नु छ। 

यो लेखमा जनताको रगत पसिनाले सिंन्चित गरी हुर्काईेएको, भुई मानिसको आधार र आशा गरेको माओवादी आन्दोलन र त्यसको नेतृत्व प्रती केन्द्रित छ।

अहिले देश माओवादीले तय गरेको एजेण्डामा चलेको छ। देशलाई यो अवस्था सम्म ल्याउन जनताका उत्कृष्ट छोरा छोरीहरुको वलिदान र  त्यागबाट संभव भएको हो। हिजो जनयुद्दको समय, शान्ति प्र्कृयामा आउँदाको समय र आजको अवस्था सम्म आउँदा गल्ती कहाँ र कसले गर्‍यो? घनबाट हठौडा  हुँदा हुँदै किल्लाको आकार किन आयो? पार्टी नेतृत्व त्यही तर पार्टी खिईदै सियो बन्ने  अवस्था सृजना कसरी भयो? यस्तो हुनुमा दोषी को? २०६४ सालको निर्वाचनमा पहिलो पार्टी भएको माओवादी अहिले नयाँ मोनसान्टो बिउबाट उम्रेका दलको आकारको कमजोर तेस्रो पार्टिमा किन खुम्चियो? जनमत भन्दा पनि जादुई नंम्वरमा दाउ थाप्नु पर्ने अवस्थामा कस्ले पुर्यायो? दोषी को? बिगत १८ बर्षमा १४ बर्ष पार्टी सत्तामा हुँदा पार्टी झन झन किन खिईयो? दोषी को? हिन्दिमा एउटा भनाइ छ्-  “वफा ढूढंने निकला था गालिब, वाई-फाई मिल गया तो उधर ही बैठ गया” के यस्तै भएको हो? हामी मालेमावादीहरुले जे हुन्छ नियतिले हुन्छ भन्ने कि आलोचलात्मक चेतले चिरफार गर्ने? वा आस्तिक जस्तै धर्मगुरुले भनेका सबै कुरा आश्रिवचन जस्तै स्विकार गर्ने?   जनता माओवादी पार्टी प्रती किन चिडिए? कार्यकर्ताहरु किन पलायन भए? नैरास्यता र पलायनको कारण के होला? यस्तो हुनुमा दोषी को? थोरै चर्चा गरौ।

पार्टिका दस्तावेजहरुमा अहिले पनि क्रान्तिकारी शब्दहरुले भरिएका छन। हाम्रा दस्तावेजहरुमा र व्यबहारमा के कती तालमेल छ? हाम्रो संविधान  “समाजवाद उन्मुख” भन्ने गरिन्छ। उन्मुख हुँदैमा गन्तब्यमा पुगिदैन। म चन्द्रमा उन्मुख हुँदैमा म चन्द्रमामा पुग्न सक्दिन। तपाईं पनि पुग्न सक्नु हुन्न।

 माओवादी पार्टी क्षयकरण हुनुमा जनता, कार्यकर्ता वा स्वय पार्टी नेतृत्व को दोषी हो? वा राष्ट्रिय अन्तरराष्ट्रिय प्रतिकृयावादी, प्रतिगमनकारी दोषी हुन?   

मेरा खुला आँखाले हेर्दा कार्यकर्ता दोषी देख्दिन। आधारभूत राजनीतिक दर्शन, विगतको र वर्तमानको वास्तबिक धरातल सबै बिर्सेंर, पंन्चायति “वर्ग समन्वय” को झल्को दिने गरी गत निर्वाचनमा काग्रेससंग एकाकार हुँदै रुखमा समेत भोट हाल्न उर्दी भयो। कार्यकर्ताहरु काग्रेसको झन्डा र रुख चुनाव चिन्ह लिएर डौडिएकै हुन। उर्दी अनुसार रुखमा भोट हालेकै हुन। अझ कतिपय कार्यकर्ताहरु त रुख चुनाव चिन्हमा उमेद्द्वार समेत भएर पार्टिको निर्णय मानेकै हुन। अपसोच, काग्रेसीहरु अपेक्षीतरुपमा आफ्नो राजनीतिक दर्शन प्रती ईमान्दार भए र हसिया हठौडामा भोट हालेनन। यसकारण माओवादी कार्यकर्ताको दोषी छैन। काग्रेसीहरुले हसिया हठौडामा भोट नदिदा माओवादी कार्यकर्तालाई दोषी करार गर्नु हुँदैन र दोषी छैनन।

अर्को कुरा पार्टी नेतृत्वले वृहत बामपन्थी एकताको कुरा गर्‍यो। कार्यकताहरु हौसिय, खुशी भए। एमालेसंग पार्टी एकता भयो। कार्यकर्ताहरुले उत्सव मनाए। एमालेका नेताहरुलाई नेता माने। पहिलेको सामन्ति प्रथामा  “कमलरी” वा “हलिया” जस्तो मालिकले जसको भाडा माझ्न वा खेत जोत्न भन्यो त्यसरिनै कार्यकर्ताहरुले माने। एमालेसंग पार्टी एकता हुँदा बिचरा कार्यकर्ताहरुको केही भूमिका थियन। पार्टी एकता पछि जनयुद्दका नायक छायामा परे, पार्टी र सरकारका निर्णयका बोधार्थ मात्र पाउने भए। कार्यकर्ता निरास भए तर “चु” सम्म गरेनन। एकता टुट्यो, पार्टि फुट्यो तर केही लोभि पापीलाई बाहेक कार्यकर्ताहरुले साथ छाडेनन। । त्यसकारण कार्यकर्ता दोषी छैनन।  

एमसिसीको सवालमा कार्यकर्ताहरुले आफ्नो भूमिका निभएकै हुन। राष्ट्रियता र स्वाधिनताको सवालमा कार्यकर्ता दरो रक्षा कवच बनेकै थिय। पार्टिको आदेश अनुसार आफ्नो ज्यानको बाजी लगाएर सडकमा रगत बगाउदै थिए। बाहिर सडकमा एमसिसीको बिरुद्द कार्यकर्ताहरुले घनघोर आन्दोलन गर्दै गर्दा लेपन लागाएर एमसिसी पास गर्दा कार्यकर्ता रगताम्मै हुँदै आन्दोलनको लागि उठाएको मुट्टी कस्दै निरास हुँदै फर्केकै हुन। के एमसिसी पास गर्नुमा कार्यकर्ताको दोष थियो? एमसिसी ठिकै हो भने त्यसको बिरुद्द किन हाउगुजी बनाएको? पार्टी नेतृत्वले यू टर्न लिदा कार्यकर्ताले पनि यू टर्न लिएकै हुन। के यसमा कार्यकर्ता दोषी छन? पटक्कै छैनन। 

मालेमावादी पार्टिमा बैचारिक बहस र अन्तरकृया हुने गर्दछ। आफुले अंगिकार गरेको दर्शन, दर्शनले दिशानिर्देश गरेको वर्गको उत्थान, वर्ग संघर्ष र वर्गिय मुक्तिको लागि बैचारिक राजनीतिक प्रशिक्षण हुने गर्दथ्यो। तर पार्टी भित्र प्रशिक्षण नाममा आत्म प्रसंसा गर्ने, अरुलाई गाली-गलौज गर्ने, अर्थी उपदेश दिने, भाषण गर्नेलाई कार्यकर्ताले बैचारिक प्रशिक्षण मानेकै छन। दोहोरो अन्तरसंवाद र अन्तरकृया नहुँदा समेत कार्यकर्ता बोलाएको ठांउमा पुगेकै छन। जे जस्तो कुरा गरे पनि ताली ठोकेकै छन। कार्यकर्ता आज्ञाकारि छन। दोषी छैनन। 

संगठन भित्र जववादलाई केन्द्रियताले सलप्पै निल्दा समेत कार्यकर्ता मौन छन। संगठनको कुनै पनि तहमा निर्वाचन हुँदैन वा हुन दीइदैन। उपल्लो तहको नेतृत्वले टिका लगाईदिने परम्परा संस्थागत हुँदा समेत मौन बस्ने कार्यकर्ता माथि प्र्श्न उठाउनु अन्याय हुन्छ।   लेवी वा चन्दा उठाउन मात्र बैठक राख्ने त्यस्ता बैठकमा लुरुलुरु जाने पैसा बुझाउने कार्यकर्ता दोषी हुनै सक्दैनन। स्थानिय र संघिय निर्वाचनमा पनि आर्थिक गक्ष हेरेर उमेद्द्वार बनाईयो। ईमान्दार कार्यकर्ताले आफ्नो आर्थिक हैसियत नहुँदा उमेद्द्वार बन्न नपाएकोमा कुनै गुनासो गरेनन। जो उमेद्दवार भए तिनिहरुको पछी लागेकै हुन। के नेतृत्वले भनेको मान्ने कार्यकर्ता दोषी हुन? अह पटक्कै होईनन।

के त्यसो भए जनता दोषी हुन? मरेको जनावरलाई उपियाले छोडे जस्तै जनताले माओवादिलाई किन छोडे? मावोवादी प्रती जनताको मोह भङ्ग किन भयो? पार्टी त्यही, नेतृत्व  त्यही तर जनता किन बिच्किय? दोषी को?

जनयुद्द सुरु गर्दा पार्टिको केन्द्रिय समिती जम्मा १९ जनाको थियो। अहिले पार्टिको केन्द्रिय समितीमा कती जना छन स्वय पार्टिलाई पनि थाहा छैन होला। आवस्यकता र औचित्यको आधारमा होईन केन्द्रिय सदस्य हुनु भनेको नेतृत्वबाट वरदान पाउनु जस्तो भएको छ, नेताबाट कार्यकर्तालाई दिने उपहार भएको छ। चोक, गल्ली, टेम्पो, भट्टी, मन्दिर, दलालहरुको हुल जता जादा पनि दुई चार जना केन्द्रिय सदस्य भेटिन्छन्। राजनीतिक बैचारिक दृष्टिकोणले फितला, मौका र अवसरको खोजिमा भडकीरहेका नेताहरु देखेर जनता बिच्कियका हुन। त्यसैले जनता दोषी छैनन।

पार्टी र नेताहरु संग पहुच भएका र लाभको पद पाएका नेताहरुले आफ्नो गाँऊ-बस्ती छोडे। बाँकी रहेकाहरु पनी निजी अवसरको खोजी गर्दै शहर बजार पसे। निर्वाचनको बेला  वा ठेक्का-पट्टा लगाउने बेलामा मात्र गाँऊ बस्तिमा देखिने नेताहरुलाई जनताहरुले किन पत्याउने? चुनावै पिच्छे आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्ने फिरिन्ङे नेताहरुलाई के को आधारमा विश्वास गर्ने? आफ्नो गाँऊ टोल र छिमेकको, मर्दा-पर्दा साथ र हात दिने होईन पर्यटक नेतालाई जनताले कसरी साथ दिने?

हिजो सम्म हात-मुख जोड्न धौ धौ हुने, जनाताको बस्ती र झुपडिमा बस्ने नेता आज चमत्कारीक आर्थिक हैसियत, सान, मान साथ कुन्डले र मुन्डलेहरुको घेरियर वैभवशाली जीवन जिएको देख्दा देख्दै जनताले कसरी नाता जोड्ने? 

जनताले  मार्क्सवाद, लेनिनवाद र माओवादलाई रोजेका थिय-  ब्यक्तिवाद, परिवारवाद र अवसरवादलाई होईन। भक्तिबाट मुक्ति होईन शक्तिबाट मुक्ति खोजेका छन। शक्तिलाई भक्तिमा रुपान्तरण गरे पछी जनताहरु निरास भए। यसो हुनुमा के जनता दोषी हुन?

पार्टी नेतृत्वमा रहन आजीवन भोग चलन गर्न विर्ता पाए जस्तो केही सिमित ब्यक्तिहरुको उपस्थिती ब्यबस्था छ। कुनै लाभको पदमा उनिहरुकै आलो-पालो भाग-वन्डा हुने गर्दछ। अझै उनिहरु आँफै र परिवार वा नातेदारहरु गैर कानुनी अर्थोपार्जनमा संलग्नता देख्दा देख्दै जनताले आफुले आँफैलाई अवमुल्यन गर्न चाहेनन। वर्गिय माया छोडेकासंग पिरती लगाउन नचाहने जनता दोषी हुन?

माओवादी हिजोको अवस्थाबाट आजको अवस्थामा पुर्याउने कार्यकर्ता पनि दोषी छैनन र  जनता पनि दोषी छैनन भने दोषी को? अब सच्चियर वा सुध्रेर हुने वाला छैन आमुल रुपान्तरण जरुरी छ। के पार्टी त्यसको लागि तयार छ?

साउन, २०८१