शिवालय माविमा अनियमितता भएको विद्यार्थी-अभिभावकको आरोप

पर्वतको सदरमुकाम कुश्मा नगरपालिका ६ स्थित शिवालय मावि बगैचाका विद्यार्थीले विद्यालयको खस्कदो शैक्षिक गुणस्तर र त्यहाँको आर्थिक भ्रष्टचारबारे खुलासा गरिदिएका छन् । विद्यार्थीले कुनै बेला देशकै नमूना बनेको शिवालय माविको खस्किदो शैक्षिक गुणस्तर र भएका आर्थिक भ्रष्टाचारबारे प्राधानाध्यापक भूपेन्द्र चापागाईलाई ८ बुँदे पत्र बुझाएका छन् ।

विद्यार्थीले शैक्षिक गुणस्तर वृद्धि गर्न भनी राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत नेपाल सरकारबाट प्राप्त रकमको प्रयोग गर्न ढिलासुस्ती आर्थिक अनियमिताकै कारण भएको दाबी गर्दै विज्ञान पाठशाला, आइसिटी ल्याब र पुस्तकालय सञ्चालन र खरीद प्रक्रिया पारदर्शी गर्न माग गरेका छन् । विद्यालय हाताभित्र निर्माण गरिएका पानी ट्यांकी, दृष्टिविहीन भवनसम्म पुग्ने बाटो निर्माणमा साथै मसलन्द खरीदमा आर्थिक अनियमितता भएको विद्यार्थीको आरोप छ ।

दृष्टिविहीन छात्रछात्राका लागि भनेर आउने रकमसमेत हिनामिना भएको विद्यार्थीको आरोप छ । विद्यालयमा व्यवस्थापन समिति ६ महिनादेखि अपूर्ण छ । विद्यालय व्यवस्थापन समिति गठन गर्न अभिभावकले जिल्ला प्रशासन कार्यालय र कुश्मा नगरपालिका शिक्षा शाखामा लिखित निवेदन दिँदासमेत सुनुवाई नगरेको विद्यार्थी र अभिभावकको दुःखेसो छ ।

विद्यार्थीले किर्ते अभिभावक खडा गरी विद्यार्थीको संरक्षकका नाममा शिक्षा विनियमावली विपरीत व्यवस्थापन समिति सदस्य बनाउने काम बन्द हुनुपर्ने, विद्यालयका चन्दादाताबाट संकलित आर्थिक कोष साथै साधन र स्रोतको प्रयोग पारदर्शी हुनुपर्ने उनीहरुको माग छ ।

विद्यालयका पूर्व विद्यार्थी रामकृष्ण भण्डारीले विद्यार्थीले राखेका माग जायज भएको भन्दै आफू पढ्ने बेला १ हजारभन्दा बढी विद्यार्थी रहेकोमा अहिले २ सय हाराहारीमा हुनुले पनि खस्कदो शैक्षिक अवस्था र भ्रष्ट प्रवृत्ति प्रष्ट भएको दाबी गरे । कक्षा ९ की एक छात्राले शिक्षकले कक्षामा शिक्षकले राम्रोसँग नपढाउँदा बाहिर कोचिङ सेन्टरमा पढ्नुपर्ने अवस्था रहेको सुनाइन् । उनी शैक्षिक अवस्था सुधार गर्न विद्यालय प्रशासनले विद्यार्थीले राखेका माग पूरा गर्नुपर्नेमा जोड दिइन् ।

विद्यालयको खस्कदो शैक्षिक अवस्था र आर्थिक अनियमितताबारे अभिभावक राधा नेपालीले चिन्ता जनाइन् । उनी भन्छिन्, ‘विद्यालय जस्तो पवित्र स्थलमा व्यक्तिगत स्वार्थ पूरा गर्न विद्यालयमा व्यवस्थापन समिति गठन हुन दिइएको छैन । व्यवस्थापन समिति गठन नगरी पहिलेको समितिले गरेका भ्रष्टचार लुकाउन खोजिन खोजिएको छ । विद्यालयको पुरानो दश कोठे भवनको संरचना भत्काइदा आएका काठ, ढुंगा, पक्की इटा, रंगीन जस्ता पाता लगायत सामाग्रीको विवरणको खोजी र विद्यालय हाताभित्र निर्माण गरिएका विभिन्न भौतिक संरचनामा भएका खर्चको पारदर्शीता हुनुपर्छ भनेपछि व्यवस्थापन समिति गठन हुन नसकेको हो । विद्यार्थीले राखेका माग भनेका हामी अभिभावकका पनि माग हुन् । यी मागको सम्वोधन विद्यालय प्रशासनले गर्नुपर्छ,”