गुँदेतालमा डुबेर बालकको मृत्यु, हर्पनमा २ जनाको ज्यान गयो

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २६ मा पर्ने गुदेतालमा शुक्रबार दिउँसो डुबेर बालकको मृत्यु भएको छ ।

दिउँसो सवा ३ बजेतिर छ वर्षीय बालक सचिन परियारको डुबेर मृत्यु भएको हो ।
लमजुङको मध्य नेपाल नगरापालिकाको करापुटार भएका सचिव बुवा विकास परियारले माछा मारेको हेर्न तालमा गएका थिए । पोखरा–२६ को प्रगतिटोल बस्ने सचिनलाई तालमा डुबेको अवस्थामा देखेपछि स्थानीय र बुवा विकासले उद्धार गरी लेखनाथ सिटी अस्पताल पु¥याएकोमा चिकित्सकले दिउँसो ४ बजे मृत घोषणा गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।

शुक्रबार पौडी खेल्ने क्रममा पोखरा २३, घाँटीछिनामा दुई जनाको ज्यान गएको छ । दिउँदो पौने ४ बजेतिर घाँटी छिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेका पोखरा–१ मोहरिया टोल बस्ने वर्ष १८ का प्रकृत बुद्धाचार्य र पोखरा–२, बागलुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्रकारको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर कालिकाबाट खटिएको टोलीले पौने ५ बजे दुवै जनाको शव निकालेको थियो । छ जना पौडी खेल्न गएकोमा बाँकी चार जना भने सकुशल छन् ।