राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो ।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा (माओवादी केन्द्र), दुई वटा नेकपा (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी (जसपा) नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बिचमा संयुक्त रुपले उम्मेदवारी दिने विषय टुङ्गो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली कांग्रेसले, ६ वटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको छ । तदनुरुप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ ।’’
प्रमुख सचेतक लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुङ्गो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुङ्गो लगाउने बताउनुभयो ।