मित्रमिलनसँग करोड घूस खाने सहकारी रजिस्टार पक्राउ

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा पर्वत प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो ।

हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पराजुलीलाई बुधबार प्रहरीले कार्यकक्षबाटै पक्राउ गरी पोखरा ल्याइँदै छ । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार उनी बुधबार कार्यालय गएका थिए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले पराजुलीलाई कार्यस्थलबाटै पक्राउ गरी पोखरा ल्याउँदै गरेका जानकारी दिए । कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उनी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार थिए ।

कास्कीमा हुँदा मित्र मिलनको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएका थिए । एक करोड पाँच लाख रुपैयाँ लिएर प्रदेशभरी कार्यक्षेत्र बनाइदिने आश्वासन दिए पनि उनले त्यसो गर्न सकेका थिएनन् ।

मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी, एमाले नेता अर्जुन गिरीसहित दुई दर्जनभन्दा बढी अझै फरार छन् ।