पोखराको प्याराग्लाइडिङ उडान अझै ठप्प ( यस्तो छ विवादको कारण)

शुक्रबारदेखि पोखराको आकासमा प्याराग्लाइडिङ ठप्प छ । दैनिक सरदर डेढ सय उडान गर्ने पाइलटहरुले उडान बन्द गरेका हुन् । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले गरेको निर्णयविरुद्ध प्यारा पाइलटहरु आन्दोलित भएका हुन् ।

नाले बुधबार कम्पनीहरुले आफैं उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय गरेको थियो । पाइलट र कम्पनीहरु बिच असमझदारी भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत समझदारी नगरी उडान नगर्न पत्राचार गरेको छ ।

प्यारा पाइलटहरुको संस्था नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष दीपक थापाले कम्पनीहरुको निर्णयभन्दा पनि आफूहरुको मुख्य सरोकार पाइलटको सेवा, सुविधामा भएको दाबी गरे । पोखरामा अहिले प्याराग्लाइडिङका लागि बाह्र हजार शुल्क तिर्नुपर्छ । त्यसमध्ये छ हजार पाइलटले पाउने गरेका छन् ।

खुला प्रणालीमा बुकिङ र उडान भएपछि आफूहरुको पारिश्रमिक घट्न सक्ने पाइलटरुको चिन्ता छ । “हाम्रो पारिश्रमिक सुनिश्चित हुनुप¥यो । पाइरहेको भन्दा कम हुनुभएन,” थापा भन्छन् । उनले प्याराग्लाइडिङ कम्पनीहरुको द्वन्द्वको मारमा आफूहरु परेको गुनासोसमेत गरिन् । अहिले पोखरामा दुई सय ५८ प्यारापाइलट काम गरिरहेका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले व्यवसायी र पाइलटबिच निरन्तर संवाद भइरहेको जनाउँदै चाडै सहमति बन्ने जनाएको छ व्यवसायी र पाइलटबिच सहमति भएपछि प्राधिकरणसँग बैठकसँग बैठक गरी उडान सुचारु गरिने ना कास्की अध्यक्ष सुनीलबहादुर भट्टराई बनाउँछन् ।

यसअघि एकद्वार प्रणालीबाट बुकिङ र उडान भइरहेकोमा २१ कम्पनीले त्यसलाई खुला गर्न नामा निवेदन दिएका थिए । पोखरामा ५२ प्याराग्लाइडिङ कम्पनीले काम गरिरहेका छन् । ती कम्पनीमा एक अर्ब हाराहारी लगानी छ ।

एक प्याराग्लाइडिङ उडान शुल्कको बाह्र हजारमध्ये छ हजार कम्पनी र छ हजार पाइलटले पाउँदै आएका थिए । उडान भर्ने ग्राहक पाएको अवस्थामा दिनमा दुई पटकसम्म एक पाइलटले उडान भर्न सक्छन् । पाइलटले आपूmले उडाउने ग्लाइडर आफैं व्यवस्था गर्ने गरेका छन् । यसको शुल्क दश लाखसम्म पर्छ । प्यारा पाइलट बन्न दुईदेखि तीन वर्ष तालिम र अन्य लगानी गरी २५ लाखसम्म खर्च हुने जानकारहरु बताउँछन् ।

यता, प्याराग्लाइडिङ कम्पनीहरुले पाउने छ हजारबाट अप्रेसन खर्च, ग्राडक र आवश्यक सामान लेकसाइडबाट सराङकोट पु¥याउनेसहितका खर्च व्यहोर्दै आएका छन् ।