पोखरा प्रवेश र बाहिरिने मुख्य विन्दु हो पृथ्वीचोक । पृथ्वीचोकमा अहिले प्रथम सहिद लखन थापाको शालिक छ । केही दिनअघि विश्व आदिवासी दिवसको ¥यालीमा सहभागीले लखनको शालिक छेउमै राखिएको पृथ्वीनारायण शाहको फोटो भएको फ्लेक्स हटाएदिएपछि विवाद बल्झिएको छ ।
०६४ वैशाख १७ गतेसम्म चोकमा पृथ्वीनारायणको शालिक थियो । वैशाख १८ गते मजदूर दिवसका सहभागीले शाहको शालिक तोडफोड गरे । पछि त्यहाँ प्रथम सहिद लखन थापाको शालिक राखिएको हो । गएको पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने क्रममा चोकमा सहभागीले शाहको फ्लेक्स राखेका थिए ।
तनाव बढेपछि शुक्रबार पोखरा महानगरले सर्वदलीय, सर्वपक्षीय बैठक गरेको थियो । बैठकमा महानगर प्रमुख धनराज आचार्यले सडकमा रहेका सबै सालिक एक महिनाभित्रै व्यवस्थापन गर्ने योजना सुनाएका थिए । बैठकका सहभागीले त्यसमा सहमति जनाएका थिए ।
तर अहिले त्यो सहमति कार्यान्वयन हुन कठिन देखिएको छ । कांग्रेस कास्की सभापति किशोरदत्त बरालले पोख्रेलीको साझा चासोको यो विषयलाई राजनीतिक पार्टीहरुको धारणाले मात्रै सम्बोधन गर्न नसक्ने जनाउँदै हतारमा निर्णय नगर्न र साझा धारणा खोज्न आग्रह गरेका छन् । बैठकमा कांग्रेस कास्की सचिव भानु ढकालले सहभागी भई सबै शालिक व्यवस्थापनमा सहमति जनाएका थिए ।
एमाले पनि निर्णयबाट पछि हटेको छ । एमाले पोखरा महानगर इन्चार्ज कृष्ण थापा यस्तो संवेदनशील विषयमा परिपक्व र सर्वपक्षीय निर्णय हुनुपर्नेमा जोड दिए । पोखरा महानगरका पूर्वप्रमुखसमेत रहेका थापाले भने, “सर्वदलीय बैठक भयो अरे भन्ने पछि सुनेँ, मलाई जानकारी भएन । दीर्घकालीन रुपमा सहरको विकासका लागि योजनावद्ध काम हुनुपर्छ ।”
राष्ट्रिय विभूतिका शालिकबारे यस खालको विवाद र तनाव लज्जास्पद हुने उनको भनाइ छ । पोखरा महानगरले बोलाएको सर्वदलीय बैठकमा एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी सहभागी थिए ।
माओवादी केन्द्र कास्की संयोजक केशव पौडेल भने शुक्रबारे बैठकमा भएको सहमति उचित भएकाले सबैले पालना गर्दा समस्याको निकास निस्कने बताउँछन् । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश अध्यक्ष धर्म तमु लखन थापाको मात्र शालिक हटाउन नहुने, हटाए पोखराका सबै शालिक हटाउनुपर्नेमा जोड दिन्छन् । “पृथ्वीनारायणको शालिक विभूति पार्कमा छ । लखन थापाको शालिक अहिलेकै ठाउँमा ठीकै छ । विभूति पार्क लाने हो भने सबै शालिक एकैपटक लानुपर्छ,’ उनी भन्छन् ।
राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ चोकमा लखन थापाको शालिक राख्ने भए पृथ्वीनारायणको शालिक पनि राख्नैपर्नेमा जोड दिए । नयाँ इतिहास कायम गर्न पुरानो इतिहास फालिनु उचित नहुने उनको भनाइ छ । अध्यक्ष गुरुङ भन्छन्, “चोकमा पृथ्वीको शालिकले समस्या हुन्छ भने समाधानमा हामी सहमत छौं । तर राष्ट्रनिर्माताको फोटोसमेत देख्न नसक्ने मानसिकता उचित भएन ।”
महानगरले सबै शालिक व्यवस्थापन गर्दै पर्यटन प्रवद्र्धनसमेत गर्न पोखरा १८ मा राष्ट्रिय विभूति तथा सहिद पार्क बनाएको छ । ०७५ जेठमा स्थापना भएका पार्क ५६ रोपनीमा फैलिएको छ । पार्कका उपाध्यक्ष लक्ष्मण तिमिल्सिना पार्कमा राष्ट्रिय विभूति, सहिद र विशेष योगदान गर्ने व्यक्तित्वहरुको शालिक राख्ने योजना रहेको जनाए ।
त्यहाँ अहिले पृथ्वीनारायण शाह, पूर्वमन्त्री रवीन्द्र अधिकारी, वामपन्थी नेता, पुष्पलाल श्रेष्ठ, सहिद भीमसेन दाहाल र योगेन्द्रमान शेरचनका शालिक छन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक बनिरहेको छ ।
पोखराका केही चोकमा अझै शालिक बाँकी छन् । मुस्ताङचोक, अमरसिंहचोक, वीरेन्द्रचोक, पृथ्वीचोक, अर्घाैचोक, हरिचोक, विपीचोक, विरौटा र नालको मुखमा विभिन्न व्यक्तित्वका शालिक छन् ।





