बालबालिकालाई पनि उदासीपन हुन सक्छ भन्ने कुरा हामीमध्ये कतिलाई थाहा नहुन पनि सक्छ । पूर्ण रुपमा विकास नभई सकेका बालबालिकामा शारीरिकमात्र नभएर मानसिक विकास क्रम पनि पूर्ण रुपमा भइसकेको हुँदैन । उनीहरुमा सोच्ने र विचार गर्ने क्षमतामा पनि पूर्ण विकास भएको हुँदैन । यस्तोमा हामीलाई उनीहरु अवसाद अर्थात उदासीपन जस्तो मानसिक समस्याबाट पीडित हँुदैनन् भन्ने लाग्न सक्दछ । तर हाम्रा साना बालबालिका पनि यसबाट पीडित हुन सक्छन् ।
बालबालिकाहरु जिद्दी तथा उत्सुक स्वभावका हुन्छन् । हुर्कदै जाने क्रममा उनीहरुका स–साना इच्छा तथा आवश्यकता पूरा नहँुदा बेला बेलामा उदास हुनु वा झर्किनु स्वाभाविक तथा सामान्य कुरा हो । यो उनीहरुको संवेदनात्मक सिकाई तथा अनुभवको एउटा पाटो पनि हो । तर यदि हाम्रा बालबालिकामा लामो समयसम्म निरन्तर रुपमा उदासीपन देखिन्छ वा उनीहरुमा निम्न लक्षण देखिन्छ भने उनीहरुलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्न सकिन्छः
लक्षणहरु
– लामो समयसम्म उदास भइरहने
– एकान्तवास (परिवार वा साथीहरुसँग अलग रहने )
– चिडचिडापन, रिसाउने, झर्किने
– एकाग्रतामा कमी
– आत्तिने वा डराउने
– मुड चेन्ज भइरहने
– दिक्क लाग्ने
– निद्रामा समस्या (कम÷बढी सुत्ने )
– खानामा समस्या (कम÷्बढी खाने)
– हात खुट्टा गल्ने, झमझमाउने र शक्तिविहीन अनुभव गर्ने
– शारीरिक पीडा वा अन्य समस्या देखिने तर परीक्षणमा केही नदेखिने
– आफूलाई हानी पु¥याउने व्यवहार देखाउने
– आत्महत्याको सोच वा प्रयत्न गर्ने
यसरी अन्तिममा आत्महत्याको सोच वा प्रयत्न जस्तो संवेदनशील अवस्थामा पुगिसकेका बालबालिकालाई तुरुन्तै बिशेष सहयोगको आवश्यकता पर्दछ । डिप्रेसनको मुख्य लक्षण भनेको उदासीपन नै हो । जसमा उनीहरुलाई निरन्तर नकारात्मक सोचहरुले गलाउँदै लैजान्छ । बालबालिकामा जीवनप्रति कुनै उत्साह, उमंग वा सकारात्मक भाव नै बाँकी रहदैन । उनीहरु बिल्कुलै असहाय र निरिह अनुभव गरिरहेका हुन्छन् र साना बाल– बालिकालाई आफूलाई के भइरहेको छ भन्ने कुराको ज्ञान नहँुदा उनीहरु दिक्दारीसँग लडिरहेका हुन्छन् ।
अभिभावक तथा शिक्षकहरु नै हुन्, जसले उनीहरुको समस्या पहिचान गर्न र सहयोग जुटाउन सक्छन् । त्यसैले २ देखि ४ हप्तासम्म लगातार रुपमा यस्ता लक्षण देखिएमा वा उनीहरुका सोच तथा व्यवहारले उनीहरुलाई नै हानी पु¥याएको अवस्थामा उनीहरुलाई डिप्रेसनको सम्भावना हुन्छ ।
यसरी बालबालिका लगातार पढाइमा एकाग्रता नदेखाउने, बिभिन्न क्रियाकलाप तथा साथीहरुसँग टाढा रहने, विद्यालय जान नखोज्ने जसका कारण शिक्षक क्षेत्र तथा विद्यालयका अन्य क्रियाकलापमा कमजोर देखिने, घर परिवारसँग घुलमिल हुन नचाहने वा ढोका थुनेर भित्रै बसिरहने, रमाइला क्रियाकलापमा पनि सहभागी हुन नचाहने जस्ता समस्या सुरुमा देखाउने गर्छन् । यदि यस्ता विभिन्न किसिमका लक्षण हाम्रा बालबालिकामा कहिलेकाँही मात्र देखिन्छ भने यसलाई डिप्रेसन भन्न मिल्दैन बरु यो उनीहको हुर्काइसँगै आउने सिकाई तथा अनुभवहरुको आरोह अवरोहमात्र हुो ।
डिप्रेसनका कारण
– जैविक वा वंशानुगत कारणहरु
– बुलिङ वा साथीहरुको सम्बन्धमा बेमेल
– भेदभाव(स्कुल÷घर परिवारबाट गरिने )
– अध्ययन तथा अन्य क्रियाकलापको सिकाईमा समस्या
– विषाक्त वातावरण
– आत्मविश्वासमा कमी
– अशान्त पारिवारिक वातावरण(बेमेल, खट्पट, आपसी झैझगडा )
– परिवारका सदस्यमा डिप्रेसन भएमा
– नसा तथा लागुपदार्थ दुव्र्यसनको माहोल
– बालबालिकामा हुन सक्ने विभिन्न हिंसा
– प्रियजन वा परिवारबाट अलग्गिनु पर्दा
– रोग तथा दीर्घ रोगबाट ग्रसित हँुदा
यसरी घर, स्कुल तथा परिवारक कारण पनि बालबालिकामा डिप्रेसनको सम्भावना निर्धारण गर्दछ । बालबालिकाहरु आफ्ना भावना वा समस्या प्रस्ट रुपमा भन्न वा पोख्न् सक्दैनन् । त्यसैले उनीहरुको समस्या पहिचानको जिम्मेवारी पनि शिक्षक तथा अभिभावककै हुन्छ र उनीहरुलाई राम्रोसँग निरीक्षण गर्नु, प्रश्न गर्नु वा जिज्ञासा राख्न जरुरी हुन्छ । उनीहरुलाई वयस्क व्यक्तिलाई जस्तै प्रस्न गर्न अप्ठ्यारो मान्नु हँुदैन । जस्तैः के तिमी दुःखी छौ ? छौ भने के कुराले दुःखी बनाएको छ ? तिमीप्रति नराम्रो भावना आउने कारणहरु के के होलान् ? आदि ।
सहयोगी क्रियाकलाप
उनीहरुमा देखिएको लक्षण केही होइन वा तिमीलाई केहि भएको होइन भनेर बेवास्ता नगरौ !
– उनीहरुको समस्या पहिचान गर्ने, समाधान हुने कुरा र जुन परिस्थितिमा पनि परिवारको माया र साथ रहिरहने कुरामा विश्वस्त पारौं !
– उनीहरुसँग समय बिताउने, सँगै खाने, घुम्ने, गफ गर्ने क्रियाकलाप गरौं !
– दैनिक व्यायाम र स्वच्छ आहार तथा खानपानमा ध्यान दिऔं !
– स्लिप हाइजिन अर्थात सुताईसम्बन्धी अनुशासन कायम गराऔं !
– प्राकृतिक साथै सामाजिक वातावरणसँग एक्स्पोज गराउँदै लैजाऔं !
– उनीहरुको समस्याले हामी नआत्तिने तथा धैर्य राख्ने गरौँ !
– उनीहरुमा आत्महत्याको सोच आउँछ या आउदैन भनेर सोध्न वा बुझ्न नडराऔं जसले हामीलाई बेलैमा सचेत हुन मद्दत गर्दछ ।
– टक थेरापी तथा सिबिटी थेरापी वा अन्य मनोवैज्ञानिक परामर्श लिने गरौँ ।
– यदि समस्या जटिल जस्तो लाग्दछ भने तुरुन्तै मानसिक रोग विशेषज्ञसँग परामर्श लिने व्यवस्था गरौँ !
– भर्खरै फक्रदै गरेका फूल जस्ता हाम्रा बालबालिकाको मानसिक स्वास्थ्यको ख्याल गर्नु हाम्रो जिम्मेवारी हो र सबैभन्दा महत्वपूर्ण कर्तव्य हो ।
बालबालिकाका मनोवैज्ञानिक समस्याको सकारात्मक पारिवारिक वातावरण, प्रेरणा, जीवनशैली परिवर्तन, मनोपरामर्श तथा उपचारबाट निको हुन्छन् । यसको लागि सम्बन्धित बिषयको परामर्शदाता वा मनोरोगविज्ञसँग सम्पर्क गर्नु पर्दछ ।
भण्डारी मनोपरामर्शदाता हुन्




