कम्युनिष्ट, गेरुवस्त्र र भौतिकवाद

प्रधानमन्त्री एव नेकपा मावोवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” हालै भारत भ्रमणमा रहदा उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा गेरुवस्त्र धारण गरी पूजा गर्नु भयो। प्रचण्डको यो पूजा राष्ट्रिय बिषय बन्यो। हिन्दू परिवारमा जन्मेको एउटा दाहाल थरको ब्यक्तिले पूजा गर्दा किन हङ्गमा मच्चियो? के प्रचण्डले पूजा गरेर गल्ती गर्नु भयो? विश्वमा कती देशमा धर्मकै नाममा राजनीति गरेका छन। भारत त्यसको एउटा उदाहरण हो।

पूजा गर्नु भनेको “धर्म” को काम गर्नु हो, “पुन्य” कमाउनु हो र “पाप” पखाल्ल्नु हो। कुनै “वरदान” माग्नु हो। “मुक्ति” पाउनु हो।  धर्ममा विश्वास हुनु भनेको दैवी शक्ति, परमात्मा वा अदृश्य अलौकिक शक्तिमा गरिने विश्वास हो। धर्मले अविजेय बाह्य शक्तिमा विश्वास गर्दछ। “भाग्यवाद” लाई मान्दछ। भाग्यवादले कुनै पनि ब्यक्तिको जीवन परिस्थितीको नियन्त्रण गर्ने काम अलौकिक बाह्य शक्तिले गर्ने विश्वास गर्दछ। कुनै पनि घटना वा दुर्घटनालाई भगवान वा दैवी शक्तिले तय गरिएको ठान्दछ। जन्मेको छैटौ दिन अर्थात छैटिको दिन भाविले लेखे अनुसार भएरै छाडदछ भन्न्ने मान्यता राख्दछ। भगवाननै सर्वोकृत शक्ति स्विकार गर्दछ। पूर्व जन्मको फल, दैवको लेखा र भाग्यको खेल जस्ता पहिल्लै निर्धारण भएको हुँदा बदल्न सकिदैन भन्ने मानसिकताले गाजेको हुन्छ। यो ब्रह्माण्डको शृष्टि एव सबै जिवहरुको निर्माण दैवी शक्ति वा ईस्वरिय लीला हो भन्ने मान्दछन।

हिन्दू धर्ममा मात्र होईन अन्य धर्ममा पनि ईस्वरिय शक्तिलाई मान्दछन। ईस्लामहरु “इशाल्लाह” अर्थात अल्लाहको चाहे भने वा अल्लाहको मर्जी सर्वोकृत मान्दछन। इसाईहरु “डिटर्मिनिज्म” (नियतिवाद) मा विश्वास गर्दछन। यो विश्वास अनुसार सबै घटित घटनाहरु प्रभुको ईछ्या अनुसार पूर्व निर्धारित हुन्छन।

अलौकिक शक्तिमा विश्वास नगर्ने, भौतिकरुपमा रहेका अर्थात प्रतक्षरुपमा अनुभव गर्न सकिने  कुरामा मात्र विश्वास गर्ने भौतिकवाद हो। भौतिकवादिहरु कुनै पनि ठोस सबुत जस्तै देखिने, अनुभव गर्न सकिने, गणितिय वा बैज्ञानिक रुपमा सिद्द गर्न सकिने तथ्य वा प्रमाणको आधारमा मात्र विश्वास गर्ने भौतिकवादी हुन। भौतिकवादिहरु ईस्वर वा कुनै दैवी शक्तिमा विश्वास गर्दैनन। भौतिकवादमा विश्वास गर्नेहरु ईश्वरको सत्तालाई अस्वीकार गर्ने अथवा भगवान हुँदैन भनी विश्वास गर्ने नास्तिक हुन।  जो यो संसारको शृष्टि र चलायमान बिकास भौतिक नियमहरूद्वारा हुनेमा विश्वास राख्दछन।  यिनीहरूलाई वस्तुवादी (Materialist) भनेर पनि भनिन्छ।

संसारका सबै जैविक–अजैविक वस्तु, घटना, घटना प्रक्रिया, सङ्घर्ष र आन्दोलनहरू निरन्तर गति र परिवर्तनको प्रक्रियामा हुने गर्छ । यही सार्वभौम पद्धतिलाई नै द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । द्द्न्दात्मक भौतिकवादमा विश्वास गर्ने कम्युनिष्टहरु सिद्दान्तत: भौतिकवादी हुन्छन। भौतिकवादिहरु कुनै पनि जीवन वा जगतमा हुने वस्तु, घटना र परिघटना प्रकृयाहरुको उत्पती, बिकास र परिवर्तन वा रुपान्तरणमा भौतिक तत्वको द्द्न्दात्मक गतिमा निर्भर हुन्छ भन्ने मान्यता राख्दछन। जीवन, जगत, परिवर्तन र रुपान्तरणलाई विश्वास गर्नेहरु  कम्युनिष्ट हुन।

भौतिकवाद कम्युनिष्टको आधारभुत दर्शन हो। अलौकिक शक्ति (जस्तै भगवान, देवी-देवता, ईस्वर, प्रभु, अल्लाह आदि) को अनुग्रह वा कृपाले मानिसको “भाग्य” निर्धारण हुन्छ भन्नेमा कम्युनिष्टले विश्वास गर्दैनन। सबै भौतिकवादी कम्युनिष्ट हुँदैनन्, तर सबै कम्युनिष्ट भौतिकवादी हुन्छन् । जो आफुलाई कम्युनिष्ट भन्छ तर पूजा-पाठ, भजन कृतिन, जप आदि गर्दछन त्यो कम्युनिष्ट हुन सक्दैन। आफुलाई कम्युनिष्ट पनि भन्ने र आध्यात्मिक पनि हुने वा देखाउने पाखण्डपन हो। त्यो ढोङ्ग हो। धर्मले “पाप”को डरले खराव काम गर्न रोक्न सक्दछ। धर्मले “पुण्य” को लागि समाज कल्याणको काम गर्न सक्दछ। यी राम्रा पक्ष हुन। तर कम्युनिष्टहरु “पाप-मोचन” र  “पुन्य”को लागि होईन समता, न्याय र समाजवादी राज्य ब्यबस्थाको स्थापनार्थ भौतिक पदार्थलाई प्रधान मान्ने दर्शन हो। भौतिकवादले भौतिक परिस्थितिलाई प्रधान मान्दछ भने अध्यात्मवादले चेतनालाई प्रधान मान्ने हुँदा यी दुई वस्तुतः विपरीतार्थक दर्शन हुन्। अत: आफुलाई कम्युनिष्ट पनि भन्ने र आध्यात्मिक पनि हुने वा देखाउने पाखण्डपन हो। ढोङ्ग हो। जसले अध्यात्मवाद (धर्म) लाई दर्शनको रुपमा अङ्गीकार गर्छ भने त्यो व्यक्ति कम्युनिष्ट हुन सक्दैन ।

धर्म विश्वास गर्नु ब्यक्तिगत आस्थाको बिषय हो। कुनै पनि ब्यक्तिले कुनै धर्म मान्नु वा नमान्नु उसको निजी छनौट हो। धर्म प्रतिको आस्था कुनैपनी ब्यक्तिको नैसर्गिक अधिकार हो। धर्म मान्ने जती सबै खतम वा नमान्ने असल पनि होईन। त्यसरिनै धर्म मान्ने सबै साधु र नमान्ने सबै फटाहा पनि होईन।  यो लेखमा कम्युनिष्ट र धर्मको अन्तरसम्वन्धको बारेमा मात्र चर्चा गरेको हुँ। जसरी धर्मको नाममा आशाराम जन्मिएका छन त्यसरिनै धार्मिक कम्युनिष्ट भित्रका नन्दी, भृङगी, भुत-प्रेत, डकिनी, बोक्सी जस्ता चरित्रले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ। रामनामी गम्छा जस्तो कम्युनिष्टको गम्छा ओडेर, कर्मकाण्डी सगठन बनाएर, नेताको “कर्ता” बस्ने कार्यकता जम्मा गरेर कम्युनिष्ट दर्शन अगाडि बढदैन।

कुनै पनि ब्यक्ती कम्युनिष्ट दर्शन मान्ने वा नमान्ने त्यो ब्यक्तिको छनौट हो। कम्युनिष्ट नभए पनि ब्यक्ती असल हुन सक्दछ। तर बैराग लाग्दो कुरो के छ भने मानव तस्करहरु, बिचौलिया र दलालहरु समेत आफुलाई कम्युनिष्टको बर्को भित्र राखेका छन। कम्युनिष्टको अगुवा र नेताहरु समेत व्यबहार र चरित्र देख्दा “कम्युनिष्ट” आँफै लाजले निहुरिने अवस्था भएको छ। सामाजिक सन्जालमा आफुलाई कम्युनिष्ट पार्टिको नेता भन्नेहरुको चर्तिकला अझै उदेक लाग्दो देखिन्छ। कुनै मन्दिरको अगाडि हातमा पूजाको सामाग्री सहित  डिच्च  दात देखाएर फलानो देवी वा देवताले कल्याण गरुन, रक्षा गरुन जस्ता स्टाटस राख्दछन। कसैको जन्मदिनमा “अष्टचिरिन्जिविले सदा रक्षा गरुन, भगवान दाईना हुन” लेखेको देखिन्छ। कसैको मृत्‍यु हुँदा “बैगुण्ठमा बास होस”, मृत आत्माको चिर सान्तिको कामना लेख्ने कम्युनिष्ट नेता कार्यकता पनि बेग्रल्ती छन। कती सम्म भने श्राद्द गरेर पिण्डको फोटो राखी पित्रृ कल्याणको कामना गर्नेहरु पनि कम्युनिष्ट नेता हुने कस्तो बिडम्वना ! छोरीको “कन्यादान” गर्ने देखि साउन महिनामा हरियो कपडा र चुरामा सजिएर भौतिकवादको प्र्शिक्षण दिने महिला नेत्री हुन पाउने पनि कम्युनिष्ट! कुनै अमुक देवी वा देवताको नाममा वर्त बस्ने र पार्टी कार्यक्रममा फलफुल मात्र हसुर्ने ढोगी र आडम्वरी मान्छेहरु कम्युनिष्टको नेता कार्यकर्ता!

अब कमरेड प्रचण्डको गेरुवस्त्रको बारेमा थोरै चर्चा गरौ। प्रचण्डमा आध्यात्म ज्ञान जागेर वा भौतिकवाद प्रती बितृष्णा जागेर त्यो पूजा गर्नु भएको होईन होला। कुटनितिक  र परिस्थितीजन्य अवस्थाले गर्नु भयो होला। तर त्यसो गर्नु हुँदैनथ्यो। के भारतमा घुम्न जाने ठाउँ अनेत्र अरु केही थिएनन? किन त्यही जानु पर्‍यो? धन्न “प्रोटोकल” अनुसार कन्दनी र लगौटी मात्र लगाएर पूजा गर्नु पर्दो रहेनछ। भैंसी पूजा गर्नु, गेरुवस्त्र धारणा गरेर पूजा गर्नु तपाईंले अगिकार गरेको दर्शनले दिदैन कमरेड। देशका हजारौ उत्कृष्ट सन्तानले वलिदन दिएको तपाईंलाई गेरुवस्त्र धारण गर्न होईन। दर्शन, सिद्दान्त र आदर्श सग सम्झौता गर्दै जादा घर न घाटको हुने हो। हिजोको प्रचण्ड पथ र आजको गेरुवस्त्रधारी पुष्प कमल दाहाल खै कहाँ तालमेल छ? एकबारको जुनिमा जसरी पनि सत्ता र शक्तिमा रहने हो भन्ने सोच हो भने मेरो भन्नु केही छैन होईन भने ईतिहासको रक्ष्यानमा जाने कि गौरवशाली ईतिहास निर्माण गर्ने आगे तपाईको जो ईछ्या। कम्युनिष्ट भनेको चरित्र हो, जीवन पद्दति हो, सोच हो, वर्गिय माया हो र भौतिकवादी चिन्तन हो। कि आध्यात्मवाद रोजौ कि भौतिकवाद।