रीता पहारीसँग चिनजान भयो–खाँदबारीमा मकालु साहित्य समाजद्वारा आयोजित बाल साहित्यिक सम्मेलनमा, कवि अनिल पौडेलमार्फत् । पोखरेली दिवंगत स्रष्टा हेमराजकी अर्धाङ्गिनी रीता पहारी र म दाजु बहिनी बन्यौँ । हिमालय मावि खाँदबारीको अप्पर मुस्ताङ शैक्षिक यात्रा २०७९ कार्तिक १६ गते पोखरामा संक्षिप्त साहित्यिक भेटघाटमा उनै रीता पहारी र छोरी गोमा ‘मैनशिखा’ले एउटा पोखरेली रातो गलेबन्दी र ढाका टोपीसहित स्वागत भेट गरे ।
टोपी खसेछ, त्यो रात निद परेन । रातो गलेबन्दी हरेक कार्यक्रमा लाएर हिँड्छु । बङ्गलादेश र भारतको साहित्यिक भ्रमणमा पनि छोडिनँ । बहिनी र छोरीको उपहार भएर होला असाध्यै सुहाएजस्तो लाग्छ आफैँलाई । त्यही भेटमा एउटा पुस्तक दिएकी थिइन् बहिनीले । आँखा रसाउँदै मैले गातामात्र पढेको थिएँ–हेमराज पहारीका गीतहरु ।
लामो समयपछि फुर्सद निकालेर पढेँ । द्रवीभूत बनाए गीतका शब्दले । लयले गुन्जित बनायो मानसपटल र भावले च्याप्प च्याप्प समातेर पाना पल्टाउनसमेत कठिन बनायो । गीत पठन विधा नभई गेय विधा हो । सङ्गीत र स्वरको संयोजनले गीत जीवन्त बनाउँछ । पहारीका गीतहरु त शब्द शब्द आफैँ सारंगी रेट्दा रहेछन् । बाँसुरी बजाउँदा रहेछन् । पदावली जोर मादल घन्काउँदा रहेछन् । अनुप्रासले मुर्चुंगा र बिनायो बजाउँदा रहेछन् ।
पहारीका गीतहरु त शब्द शब्द आफैँ सारंगी रेट्दा रहेछन् । पदावली जोर मादल घन्काउँदा रहेछन् । अनुप्रासले मुर्चुंगा र बिनायो बजाउँदा रहेछन् ।
एउटा हरफ अर्को हरफसँग संयोजित भइसक्दा त सङ्गीतसहित जीवनको मीठो धुन दिन्छन् र हृदयलाई छमछम नचाइदिन्छन् । कहिले परेली भिज्ने वेदना, कहिले मुटु हल्लाउने संवेदना, कहिले संसार बदल्ने क्रान्ति चेत अनि कहिले तरलित हुने देशभक्ति छल्किन्छ । ५० पेजमा ५० गीत छन् तर ५ हजार पृष्ठको जीवन दर्शनको ठलीले उचाल्न नसक्ने भाव पस्किन्छन् र एउटा सिङ्गो जीवनले एक भूगोल भोगाइमा अनुभूत गर्न नभ्याउने अनुभूतिका पुन्जहरु महकिन्छन् ।
प्रस्तुत संग्रहमा आदिकवि भानुभक्त, कवि अली मियाँ, वीर गणेशमान, जननेता मदन भण्डारी जस्ता इतिहास प्रसिद्ध महापुरुषको योगदानप्रति समर्पित गीत छन् । खास दल र नेताप्रति पूर्वाग्रह पाइन्न । दृष्टान्त स्वरुप यी हरफः
जो रह्यो सधैँ बज्र झैं दृढ र नदी झैं निष्ठावान्
उही हो वनको निर्भीक सिंह वचन वीर गणेशमान । (पृ.४३)
छन् जति पनि गरिबका पीडा चित्कार क्रन्दन,
ती सबको एउटै सशक्त स्वरमा बोल्दछ मदन (पृ.४४)
गीतले दलका आधारमा होइन, दिलका आधारमा मानिस प्रगतिशील र क्रान्तिकारी हुन्छ भने मिहीन तर खिरिलो सन्देश दिन्छ । विकृति, अन्धविश्वास,कुप्रथा र पराधीनताको विरोधमा उनका गीतहरुले शंघघोष गर्छन् र मसाल उचाल्छन् र
हुँदैन कोही अपांग यहाँ ऋषिका श्रापले
बन्दैन कोही गरिब यहाँ विगतका पापले (पृ.१९)
पसिना जोगाई सक्तैन राख्न चुहिने थैलीले
यो देशको भलो हुँदैन पूरै विदेशी शैलीले (पृ.२९)
गरगहना लुछेर फुकाले, मध्यरातमा कुटेर निकाले,
दाइजो धेरै ल्याइन भनेर, छोराछोरी पाइन भनेर (पृ.१०)
विषयवस्तु र भावका दृष्टिले निम्न वर्गप्रति सहानभूति र शोषक वर्गप्रति आक्रोश एवम् असन्तुष्टिका अभिव्यक्तिहरु छन् । राष्ट्रिय एकता, जातीय स्वाभिमान, सद्भाव,शान्ति र अधिकारका पक्षमा नितान्त कोमल पदावली छन् । शैलीको दृष्टिले लोक झ्याउरेको आधिक्य छ । चुड्के र सवाइको लयमा पनि हृदय संवेद्य रचनाहरु बगेका छन् । प्रकृति र ऋतुहरुको पनि मानवीकरण गरिएको पाइन्छ । फूल, जून र ध्यान पनि गीतमा सुकोमल कलेवरमा प्रस्तुत छन् । आहा गीत होस् त यस्तो पो !
अतिथिसँग मुस्काउँछन् जहाँ हिमाली टाकुरा
बस्तछन् जहाँ अंगालो मारी पाखा र पखेरा
त्यही हो हाम्रो चौपट्टै राम्रो रमाइलो पोखरा (पृ.१)
हुन त संखुवासभा र कास्की समान छन् । यताका सभापोखरी, दूधपोखरी र वरुण पोखरी सँग पोखराका फेवाताल र वेगनास ताल, अरुण र वरुण सँग सेती नदी, शिवधारा गुफा, खिम्पालुङ गुफा र पार्वती गुफासँग महेन्द्र गुफा र चमेरे गुफा, मकालुसँग माछापु्छ्रे, सिद्धकाली र मनकामनासँग विन्ध्यवासिनी दाँजेर हेर्दा सबै कुरामा हामी एकले बढी छौं ।
सराङकोट त यतातिर ५० भन्दा बढी नै होलान् । तर हामीसँग हेमराज पहारीहरु छैनन् । भएकालाई पनि कास्कीको जस्तो लेखनाथको पुख्र्यौैली अभिभावकत्व छैन, न त कास्कीमा जस्तो ऊर्वर राजनीतिक माटो नै छ यता । त्यसैले होला पोखरा सय वर्षअघि छ पोखरा संखुवासभा भन्दा । यही गीत संग्रहमा पनि पहारीले पाँच ओटा गीत पोखराकै नाममा लेखेका छन् ।
पहारीको ’मुना मदन’ नै रहेछ यो गीत संग्रह । कृतिको आस्वादन गर्ने अवसर दिएकोमा बहिनी रीता र पोखराको मृत्तिकाप्रति कृतज्ञता चढाएँ । पहारीका यात्रा संस्मरण र स्मृति ग्रन्थ पनि छ ¥याकमा । कलेवर ठूलो भएकाले समय मिलाएरपछि लेख्ने नै छु ।




