पोखरा महानगरपालिका वडा नं। १८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल पोखरा महानगरले हटाएको छ ।
मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल मङ्गलवार नगर प्रहरीले हटाएको हो । फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब १५० मिटर लामो रिटेनिङ वाल नगर प्रहरीले भत्काएको हो ।
खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दासमेत अटेर गरी निर्माण गरेको पाइएपछि भत्काउनुु परेको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए ।
मापदण्ड विपरीत निर्माण भइरहेको सूचना पाएलगत्तै अनुगमनमा पुगेको नगर प्रहरीले निर्माणमा संलग्न व्यवसायी र जग्गाधनीलाई तत्काल निर्माण कार्य रोक्न अनुरोध गरेको थियो । तर, पटक पटकको आग्रहलाई अटेर गरेपछि डोजर नै प्रयोग गरि भत्काइएको थापाले सुनाए ।
फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएका सबै संरचना महानगरपालिकाले क्रमशः हटाउँदै जाने जनाएको छ ।




