जनयुद्धका ती १० वर्ष जति धेरै तुफानमय थिए, जति धेरै प्रसव र पीडामय थिए; त्योभन्दा धेरै गुणा मूल्यवान, उल्लासमय र गौरवपूर्ण थिए । तर ती १० वर्षभन्दा पछि आजसम्मका १७ वर्ष निकै तिक्ततापूर्ण, विरक्तलाग्दा, र परिसानयुक्त बने । वास्तवमा आजको पुस्ताले त्यो ऐतिहासिक जनयुद्धलाई कुन नजरले बुझ्ने ? जनयुद्धका कमान्डर, नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले कसरी हेर्ने ? छोरा र छोरी गुमाउने आमाबाबाले के बुझ्ने जनयुद्धलाई ? बुवाआमा गुमाउने सहिद र बेपत्ताका सन्ततिले कसरी लिने जनयुद्धलाई ?
अंगभंग बनेका घाइते, आपांगले कस्तो सोच्ने जनयुद्धलाई ? अझ जनयुद्धका घनघोर विरोधीहरुले (जो आज जनयुद्धको उपलब्धिमा मालामाल छन्) कसरी बुझ्ने त्यो महान क्रान्तिलाई ? विडम्बना ! आज जनयुद्धलाई हेर्ने र हेराउने दृष्टिकोणमा आग्रह, पूर्वाग्रह नहुनुपर्ने हो । तर जनयुद्धप्रतिको बुझाइ क्रमश विषाक्त बनिरहेका देख्दा एउटा महान् इतिहासप्रति गम्भीर अन्याय भएको आभास हुन्छ ।
सम्मान वा अपमान, गौरव वा सत्तोसराप, स्वीकार वा अस्वीकार जे जसरी हेरे पनि जनयुद्ध एउटा ऐतिहासिक, युगान्तकारी घटना थियो । न्याय, समानता, मुक्ति र स्वतन्त्रताका निम्ति उत्पीडित वर्गले झुपडीबाट संगठित रूपमा झन्डा उठाएको इतिहास हो जनयुद्ध । उच्च त्याग, समर्पण र बलिदानले भरिपूर्ण इतिहास हो जनयुद्ध । तत्कालीन सामन्त, प्रतिक्रियावाद, विस्तारवाद र साम्राज्यवादको निद हराम गर्ने वर्गयुद्ध हो जनयुद्ध । आफ्नो अधिकारका निम्ति जुट्ने, उठ्ने, बोल्ने र लड्ने जागरुक चेतनाको इतिहास हो जनयुद्ध ।
सत्य कुरा यो हो कि थिचोमिचो, दमन, अत्याचार र भेदभावका दानवीय परिपाटी स्वतः आफैं कमजोर भएका होइनन् । यद्यपि आज जनतामाथि भूमण्डलीकृत पुँजीवादको कहालीलाग्दो दोहन अझै डरलाग्दो छ । करिब अढाई सय वर्षको पुरानो निरंकुश राजतन्त्र सजिलैसँग छुमन्त्रको भरमा समाप्त भएको होइन । यद्यपि आज नयाँ रुपका हजारौं राजा रजौटा गल्ली गल्लीमा भुनभुनाइरहेकै छन् । आंशिक रूपमा नाममात्रैको भए पनि उपलब्धि लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशी, धर्मनिरपेक्ष, नयाँ चेत र जागरण जस्ता कैयौं जनपक्षीय उपलब्धि कसैले सित्तैमा दान दिएका होइनन् ।
यद्यपि आज लोकतन्त्र शोकतन्त्रमय छ, गणतन्त्र धनतन्त्रमय छ । हो, जनयुद्धकै कारण आज हामीलाई तमाम दूरगामी महत्वका परिवर्तनमा उभिन सम्भव भएको हो । तर आज जनयुद्धकै उपलब्धिमाथि मस्ती गर्दै जनयुद्धको अवमूल्यन गर्ने राजनीतिक मनोरोगीहरु अर्थात वैचारिक लफंगाहरु राजनैतिक बजारमा यत्रतत्र देख्न सक्छौं । महान संघर्ष, त्याग र बलिदानद्वारा आर्जन भएका तमाम प्राप्तिलाई अपमान गर्ने पूर्वाग्रही लठैटहरु निकै दयालाग्दा छन् ।
सम्मान वा अपमान, गौरव वा सत्तोसराप, स्वीकार वा अस्वीकार जे जसरी हेरे पनि जनयुद्ध एउटा ऐतिहासिक, युगान्तकारी घटना थियो
जनयुद्धको मुल उद्देश्यप्रति जनयुद्धको मुल नेतृत्वले गरेका अक्षम्य कुठाराघातका कारण सर्वत्र निराशा, अविश्वास, गुनासो र खबरदारी आउनु स्वभाविकमात्र नभई अनिवार्य पनि थियोे । जनयुद्धको मुख्य लक्ष्य अधुरै छ । नयाँ जनवादी व्यवस्था– वैज्ञानिक समाजवादी व्यवस्था र विश्व साम्यवादी व्यवस्थाका निम्ति नै योद्धाहरु हाँसीहाँसी छातीमा गोली थाप्न तयार भएका थिए ।
राष्ट्रियता, जनतन्त्र र जनजीविका अहम् मुद्दाप्रति आस्था, विश्वास र भरोसाकै कारण लाखौं नेपालीले योगदान र सहयोग गरेका थिए । वास्तवमा ऐतिहासिक जनयुद्ध र ६२÷६३ को जनआन्दोलनले विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको कुनै कल्पना गरेको थिएन । तर आज जवर्जस्त प्रतिक्रान्ति लादिएको छ । देश शान्ति, समृद्धि, आत्मनिर्भर, विकास र स्वाधीनतातिर होइन; झन्झन् अशान्ति, कंगाल, परनिर्भर, दुर्गति र राष्ट्रिय आत्मसमर्पणतिर गइरहेको छ ।
रोग, भोक, अभाव, असमानता, दलाली, भ्रष्टाचार, राष्ट्रघात, महंगी, असुरक्षाले मुलुक दर्दनाक अवस्थामा पुगेको छ । जनताका सुख र खुसी हराएका छन् । निश्चय पनि जनयुद्धको प्रमुख उदेश्य राजनीतिक सत्ताको प्रश्न समाधानतिर गएको भए यी भयावह परिस्थितिको आगमन सम्भव थिएन । लक्ष्य र उद्देश्यमा गरिएको बेइमानीका कारण जनयुद्धको नेतृत्व गर्ने माओवादी शक्तिहरु आज विभिन्न घटकमा बिभाजित छन् । संसदीय रुझानभन्दा बाहिर निस्कनै नसक्ने गरी सरकारी माओवादी कुर्सी खेलमै मैमत्त छ ।
केही नभेट्टिने गरी नदेखिने गरी हजारौं माइल टाढा पुगिसके । केही क्रान्तिलाई गति, विकास र विज्ञानको रूपमा होइन, शास्त्रीय भजनकीर्तनको रुपमा भट्याउन व्यस्त छन् । केही उट्पट्याङ र केटाकेटीपनामा छट्पटाउदै बिसर्जनको लयमा भौतारिरहेका छन् । एउटा शक्तिचाहिँ आशा र सम्भावनाका साथ संसदवाद, संशोधनवाद, आत्मसमर्पणवाद, पलायनता, रुढिवाद र बिसर्जनवादबाट आफूलाई जोगाउदै क्रान्तिमा अगाडि बढिरहेको छ, त्यो हो नेपाल कम्युनिस्ट पार्टी ।
नेपाल कम्युनिस्ट पार्टीले दलाल पुँजीवाद तथा भूमण्डलीकृत पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरेको छ । अग्रगमनका पक्षमा इतिहासमा जति पनी संघर्ष भए, जनयुद्ध र तीभन्दा पहिलेका सबै अधुरा राजनीतिक कार्यभार पूरा गर्ने जिम्मेवारीसहित नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा विकास गरेको हो ।
सबै खाले प्रतिक्रियावादी, संशोधनवादी, संसदवादी, आत्मसमर्पणवादी, विसर्जनवादी, जडसूत्रवादी र फुटवादीका सारा प्रहार, घेराबन्दी, दमन, प्रतिबन्ध, गिरफ्तारी, हत्या र षड्यन्त्रलाई परास्त गर्दै श्रमिक जनता, देशभक्त तथा जनवादी शक्तिहरुको विश्वास र भरोसासहित नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय राजनीतिको वैकल्पिक केन्द्रमा आइपुगेको छ ।
नेपालको असफल र संकटग्रस्त अवस्थाको मुख्य कारण दलाल पँुजीवादी सत्ता नै हो । यसको एकमात्र सही निकास र विकल्प व्यवस्था परिवर्तन गर्नुपर्दछ । त्यो भनेकै एकीकृत जनक्रान्तिमार्फत् सामाजिक फासिवादी दलाल संसदीय व्यवस्थाको समूल नष्ट गरी न्याय, समानता, शान्ति, समृद्धि, स्थायित्व र स्वाधीनताको सुनिश्चित हुने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्दछ ।
आज २८ औं जनयुद्ध दिवस । जनयुद्धप्रति सबैले गर्व गरौं । जनयुद्ध, जनआन्दोलन र जनपक्षीय संघर्षका कैयौं अधुरा कार्य पूरा गर्न अग्रगमनको मोर्चामा हातेमालो गरौं । इतिहासलाई निष्पक्ष रुपले अध्ययन, अनुसन्धान र सम्मान गरौं । आमूल परिवर्तनका निम्ति जीवनको कुर्वानी गर्ने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धासुमन ! राज्यद्वारा बेपत्ता भएका योद्धाहरुप्रति उच्च सम्मान ! गहिरो माया र प्रेमका साथ जनयुद्धका तमाम सहयात्रीलाई मीठो सम्झनासहित २८ औं जनयुद्ध दिवसको शुभकामना ! सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते–अपांग साथीहरुमा सम्मानपूर्वक अभिवादनसहित २८ औं जनयुद्ध दिवसको हार्दिक शुभकामना !




