राष्ट्रिय सभा उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।
उनको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल छन् भने खिमलाल देवकोटा समर्थक छन् । राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।
माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । राष्ट्रिय सभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सिना छन् । गठबन्धनबाट माओवादीको अर्यालले उम्मेदवारी दिन लागेकी हुन् । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीबाट हुनुपर्ने कानुनी व्यवस्था छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल एमाले हो । एमालेका १६ सांसद छन् भने दोस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना सांसद छन् भने तेस्रो दल कांग्रेसका १० सांसद छन् ।
नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।




