पर्यटन र आतिथ्य क्षेत्रको जनशक्ति र रोजगारदातालाई जोड्दै छौंः भण्डारी


माणित विश्वविद्यालयको दिशामा अघि बढेको जनप्रिय बहुमुखी क्याम्पस पोखरासँगै गण्डकी प्रदेशको अग्रणी शिक्षालय हो । यो क्षेत्रबाट पहिलो पटक विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र पाएको जनप्रियले अहिले २ कार्यक्रम स्वायत्त रुपमा चलाइरहेको छ । गण्डकी प्रदेशको राजधानी पोखराको मध्य भाग सिमलचौरमा रहेको जनप्रियले आज सोमबार पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट २०२२ आयोजना गर्दै छ । यसको तयारी र जनप्रियका भावी योजनाबारे क्याम्पस प्रमुख लोकराज भण्डारीसँग गरिएको कुराकानीः

यो क्षेत्रकै विशिष्ट पहिचान भएको जनप्रियको क्याम्पस प्रमुख बन्नुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
म केही समयअघि क्याम्पस प्रमुख नियुक्त भएको हुँ । यहाँ प्राध्यापन भने म दुई दशकदेखि गरिरहेको छु । जनप्रियलाई नामझै प्रिय र गुणस्तरीय शिक्षालय बनाउँदै मानित विश्वविद्यालयको रुपमा स्थापित बनाउन क्याम्पस सञ्चालक समिति, सरोकारवालासँगसँगै मेरो प्रयत्न रहनेछ ।

यो क्याम्पसलाई अझ गुणस्तरीय बनाउन कस्ता भावी योजना बनेका छन् ?
जनप्रियले २०७२/०७३ मा राष्ट्रिय पुरस्कार पाएको थियो । अब केही खेलकुदका संरचना निर्माण र इनडोर गेमको व्यवस्था गर्नुछ । अहिले क्याम्पस करिब ७ रोपनीमा छ । मानित विश्वविद्यालय बनाउन यो निकै थोरै जग्गा हो । कमसेकम ३० रोपनी जग्गा प्राप्तिका लागि पोखरा महानगरसहित सरकारी निकायमा पहल गर्नैपर्ने अवस्था छ । शिक्षक, कर्मचारीमा उत्साह थप्न र गुणस्तरीय शिक्षाका लागि सेवा, सुविधामा बढोत्तरी गर्ने विषयमा पनि छलफल हुनेछ । जनप्रियलाई शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र कर्मचारीको प्रगाढ सम्बन्धबाट नमुना बनाउने दिशामा अबका योजना निर्देशित हुनेछन् । चाडै बिबिए एलएलम कार्यक्रम सञ्चालन गर्ने तयारी पनि छ ।

अहिले जनप्रियले कुन कुन संकायमा के के कार्यक्रम चलाइरहेको छ ?
जनप्रियमा अहिले बिए, बिबिएस, बिबिए, बिएड, एमबिएस, बिएसस्सी माइक्रोबायोलोजी र हाम्रै दुई स्वायत्त कार्यक्रम चलिरहेका छन् ।

माणित विश्वविद्यालयको दिशमा अघि बढ्दै स्वायत्त २ कार्यक्रम चलाउनुभएको छ, ती कार्यक्रममा कसरी चलिरहेका छन् ?
चार वर्षे बिएमटिएम र एमबिए इन हस्पिटालिटी म्यानेज्मेन्ट हाम्रो कलेजका आकर्षण हुन् । बिएमटिएम अहिलेसम्म दिउसो चलिरहेको छ, अब यसलाई बिहानी सत्रमा चलाउने तयारी छ । यसो गर्दा दिउँसो काम गर्न चाहने, अनुभवकै लागि पनि काम गर्नुपर्ने विद्यार्थीहरुले सजिलै पढ्न पाउँछन् । यसमा ४० प्रतिशत प्राक्टिकल हुन्छ भने एमबिए इन हस्पिटालिटी म्यानेज्मेन्टमा ६० प्रतिशत प्राक्टिकल हुन्छ । यी विषय अध्ययन सकेका जनशक्ति आफूले अध्ययन गरेका सिद्धान्तलाई सजिलै व्यवहारमा उतार्न सक्ने काबिल हुन्छन् । देश, विदेशमा उनीहरुका लागि रोजगारीका अवसर हुन्छन् ।

पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट २०२२ केका लागि आयोजना गर्नु भयो ?
पर्यटन र आतिथ्य क्षेत्रका संघ, संस्था, रोजगारी प्रदायक र शैक्षिक क्षेत्रलाई एकै ठाउँमा ल्याएर त्यसका समस्या पहिचान गर्ने र सम्भावना खोज्ने उद्देश्यले मिट आयोजना गरिएको हो । कार्यक्रममा प्राडा रमेशराज कुँवरले नेपालको पर्यटन हिजो, आज र भोलि शीर्षकमा प्रस्तुति राख्नुहुनेछ । नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका सम्भावनालाई सार्थक बनाउने उपायबारे प्रस्तुति राख्नुहुनेछ ।

जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा हुने मिटको सहआयोजकमा पोखरा पर्यटन परिषद् छ । यो कार्यक्रमलाई पोखरा महानगरपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन पोखरा, पर्यटन मन्त्रालयल गण्डकी प्रदेशले सघाएका छन् ।

समारोहमा बिएमटिएमका विद्यार्थी सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन् । समारोहमा जनप्रियले स्वायत्त कार्यक्रमका रुपमा सञ्चालन गरिरहेका बिएमटिएम र एमबिए इन हस्पिटालिटी म्यानेजमेन्टबारे प्रकाश पारिनेछ । यी कार्यक्रम अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्ना अनुभव सहभागीलाई सुनाउने छन् । यो कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका प्लस टु सकेका करिब ३ सय विद्याथीको सहभागिता रहनेछ । कार्यक्रममा गण्डकी प्रदेशमा पर्यटन र अतिथ्यता शिक्षाको अहिलेको अवस्था र सम्भावनाबारे समेत हुनेछ । यो प्यानल छलफलमा डा रामजी शर्मा, नेपाल पर्यटन परिषद गण्डकीका काशिराज भण्डारी, बाराही ग्रुप अफ हस्पिटालिटीका कार्यकारी निर्देशक वैभव पौडेल र पोखरा ग्रान्डका जेनेरल म्यानेजर पञ्चम लामा सहभागी हुनुहुनेछ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानोर्बु शेर्पाले नेपालको पर्वतीय पर्यटनबारे भनाइ राख्नुहुनेछ । जनप्रियले प्रकाशन गर्दै आएको जर्नल अफ टुरिजम एन्ड एड्भेन्चरको सातौं अंक पनि सोही समारोहमा सार्वजनिक गरिनेछ । अन्त्यमा पोखरा महानगरका मेयरले पर्यटन र आतिथ्य शिक्षाको आवश्यकता र पोखरा महानगरका पर्यटन क्षेत्रका योजनाबारे जानकारी दिनुहुनेछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हामीले आयोजना गर्न लागेको कार्यक्रमको तयारी पूरा भएको छ । हामी विद्यार्थी र शिक्षालयका प्रमुखहरुलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछौं । प्रदेशको एउटा गरीमामय क्याम्पस जनप्रियको साख अझ उचो बनाउन यहाँहरु सबैको साथ, सहयोग, शुभेच्छाको अपेक्षा छ ।