पारी पोखरा दीप । वारी भलाम खरबारी डिल । बीचमा भखर्र बनेको पुल । ‘सायद यति लामो झोलुङ्गे पुल नेपालमा कमै होलान्,’ बाटो हिँड्ने, घुम्न आउनेहरु तर्क गर्छन् ।
सुरु सरुमा कति बुढा बुढी त कहाली लागेर पुल तर्न डराउँथे । यतिसम्म कि पुरानै बाटो हिँड्न रुचाउँथे । पुरानो बाटो जाँदा तेस्रो ओरालो र ठाडो उकालो हिँड्न पथ्र्याे काँली खोला तर्न पर्दथ्यो । कस्सिएर हिँड्न सक्ने नौजवानलाई पनि ठयाम्मै आधा घण्टा लाग्थ्यो । तर अचेल भने पुलप्रति सबै जना अभ्यस्त भइसकेका छन । पुरानो बाटो हिँडेको कोही देखिँदैन ।
मेरो घर पुलनजिकै छ । जब ममा एक्लोपन र अशान्ति महसुस हुन्छ । म खरबारी डिल अर्थात्, पुल छेउमा बियाँलिन मन पराउँछु । जहाँ असाध्यै प्रिय हावा सरर लाग्छ । क्षण भरमा अनेकौ पीडा, चिन्ता, निराशा , कुण्ठा र दिक्दारी मबाट बढारेर लैजान्छ । घर फर्कदा आफूलाई निकै स्वच्छ पाउँछु । स्वस्थ पनि । फेरि एक क्षणमा उही पुराना सोचाइ स्वतस्फूर्त आउँछन् । जीवन केवल खाल्टाखुल्टीमात्र लाग्छ । कुनै प्रगतिशील सोचाइ नभेटिए जस्तो, हिँडिरहेको यात्रा पनि एकदम बोझग्रस्त लागिरहन्छ ।
समय क्रमसँगै डिलमा बस्नुका पछाडि एउटा आकस्मिक अर्थ र कारण थपिएको छ । एउटा प्रेरक रसरागले मनलाई पुलकित तुल्याउँछ । त्यो के भने उनी ११ बजेतिर फर्कन्छिन् । म उनको प्रतीक्षामा बाटाभरि दृष्टि फिँजारेर बस्छु । आजकल यो उपकार्य मेरो नित्य सूचीमा परेको छ । उनलाई देखेपछि मनमा लाख बत्ति बल्छन् । उनलाई नदेख्दा ‘के भुलेँ, के भुलेँ’ भन्ने बाक्लो आभाषले मन भारी भइदिन्छ ।
एक दिन म प्रायः बस्ने ठाउँमा पत्रिका पढेर बसिरहेको थिएँ । शीतल हावा, एकान्त र शान्तपनाले मनमा पृथक उमंग् छाएको थियो । अनायास मेरा आँखा उनको बान्की परेको सुगठित शरीरमा प¥यो । सायद उनी क्याम्पसबाट आहरहेकी थिइन् । दुई जोर आँखा घुम्तीमा ठोक्किएका सवारी साधन जसरी जुधे । मरो मनले भन्यो, ‘कति राम्री हो । यति राम्री युवती अझसम्म मैले देखेको थिइनँ ।’
घरेलु साडी र कालो चोलीभित्र मदमस्त यौवन, सारी र चोलो बीचको सेतो भूभाग, यौवनको विज्ञापन गरिरहेको वक्षस्थल र नितम्ब । लामो कपाल, सुगाको जस्तो नाक । समग्रमा उनी स्वर्गकी अप्सरा लाग्थ्यो ।
तब मेरो मन उनको घर कहाँ होला ? कुन संकाय कुन स्तरमा पढ्छिन् होला ? विवाहित हुन कि अविवाहित ? बोलचाल गर्ने समय नजुटेकाले मनभित्रका जिज्ञासा ग्यास्ट्रिक रोग जसरी मनपेटमा गुम्सिएका थिए ।
एकदिन जम्काभेटको शैलीमा भेट भयो । बाटोमा उनीअघि थिइन, म पछि । हाम्रा पाइला सिपाहीको परेडको ढाँचामा लम्किरहेका थिए । बोलौँ, कसरी बोलौँ ? के भनेर बोलौँ ? नबोलौं मन चञ्चल भएको छ, एउटा निरपेक्ष भाव मन्तिर अँचेटिएइको थिए । त्यति नै बेला उनले पुलुक्क हेरिन् । र, मुसुक्क हिमाल जसरी हाँसिन् । उनको मृदु मुस्कानले मभित्र खैलाबैला मच्चायो । साथै, उनको मुस्कान गेटमा लेखेको स्वागतम् जस्तो पनि लाग्यो ।
‘यो बाटो हिड्ने अधिकांशलाई चिन्दछु तर तपाईलाई त चिन्न सकिनँ, नौलो लाग्यो,’ मैले धर्मराएको स्वरमा भने ।
‘सबैलाई चिन्नैपर्छ भन्ने के छ र ?,’ उनले अनपेक्षित तर्क गरिन् ।
पहिलो गाँसमै दाँतले दर्शन ढुंगाको सामना गर्नुप¥यो । उनले मतर्फ फर्केर हेरिन्, एक प्रकारको रहस्यमय हेराई । केही क्षणको हिँडाई मौनतामा रहिरह्यो ।
‘त्यसका लागि मैले के गर्नु प¥यो त?,’ उनी असजिलो तवरले बोलिन् । उनी मुस्कुराएर बोलेकी थिइन् तर मैले उनको बोली र मुस्कानको अर्थ बुझिरहेको थिइनँ । मलाई लागिरहेको थियो, कतै म अनावश्यक ठाउँमा त पोखिइनँ । कति असजिलो केटी रहिछ, मनमनै दोहारो कुरा खेल्न थाले । उसलाई छलेरअघि जाऊँ जस्तो लाग्यो । फेरि लाग्यो, केीह क्षण उभिएर ढिलो जाउँ । अनकनाई अनकनाई हिँडिरहेको थिए । सँगसँगै हिँडे पनि बोल्ने पक्षमा थिइनँ ।
‘तपार्इँको घर यतैतिर हो, ’ उनले नम्र भावमा भनिन् ।
‘हो, तपाईँको होइन र ?,’ म खुसुक्क भएर भने । मलाई उनको बोल्ने तौर,तरिकाले भने दङचित खुवाएको थियो ।
‘अहँ होइन, ठूली आमाकहाँ पढ्न बसेकी, मेरो घर त स्याङ्जा हो, ’ उनले तीखा र लोभलाग्दा आँखा जुधाउँदै भनिन् ।
यति छिट्टै खुलेर बोल्लिन् भनेर मैले सोचेको थिइनँ । नसोचेको भइरहेको थियो । म चूपचाप हिँडिरहेको थिएँ । उनी बोल्दै थिइन, ‘स्याङ्जा भन्नुमात्र हो, एकदम दुर्गममा पर्छ । त्यसो भएर एसएलसी पास गर्ने बित्तिकै ठूलीआमासँग कुरा मिलाएर यता आएकी । यहाँबाट त क्याम्पस जान कति सजिलो है ? साँच्चै तपाइको गाउँ त असाध्यै मिलेको, स्वर्गको टुक्रा जस्तो । घर घरमा बिजुली, घरघरमा पानी, घर–घरमा मोटर बाटो, स्कुल पनि नजिकै । गाउँ यतिसम्म सविधाजनक भएको त मैले कतै देखेको थिइनँ । झन् पोखरा नजिकै ।’
‘सुविधा र प्रकृतिका दृष्टिलेमात्र हो । नत्र यहाँको समाज त गएगुर्जेको छ । आन्तरिक पक्षसँग अनभिज्ञ भएर नै यसरी प्रशंसा गर्नुभयो होला,’ मैले गाउँको कमजोरी उकेले ।
‘प्राय ः गाउँको समाज यस्तै हुन्छन्,’ उनले भनिन,् ‘सब चेतना र अशिक्षाको कमीले
हो ।’
यतिञ्जेल हामी केआइसिंह पुलमा आइसकेका थियौँ । उनी एक कल फोन गर्छु है भनेर पिसिओभित्र छिरिन् । मैले उनको प्रतीक्षारत् उभिरहनु आफैमा भद्दा र भडकिलो ठानँे । म अलि पल्तिर साथीको पुस्तक पसलतिर लम्किएँ । उनीसँग केही बोल्न पाएकोमाखुसी थिएँ । त्यो खुसी अलि विस्तारमा आत्मसात् गर्न चाहन्थेँ । अझ परिचयसहित नजिक हुन चाहन्थँे ।
त्यसपछिका दिनमा जहाँ भेट भए पनि हामी बोल्थ्यौँ । हाल खबरका कुरा सोधनी हुन्थे । या त मुहार भाव र मुस्कानबाट बोलचाल हुन्थ्यो । त्यहाँ भन्दा अगाडि पाइला चाल्न सकेका थिएनौँ । म भने एकतर्फी प्रेममा निथ्रुक्क रुझेको थिएँ । मप्रति उनको धारणा कस्तो थियो थाह थिएन ।
एकदिन म खरबारी डिलमा बसिरहेको थिएँ । यताउता चहारिरहेको दृष्टि पुलको बीचमा
अडियो । जहाँ उनी खुट्टा लर्खराएर हिडिरहेकी थिइन् । मानौँ, उनी क्याम्पसबाट आएकी होइनन्, हस्पिटलबाट डिस्चार्ज भएर आएकी हुन् ।
मलाई देख्नेबित्तिकै कृत्रिम मुस्कान मुहारमा भरिन् र भनिन्, ‘आँखा जुधाउने हो ?’
पोखरा र पोखराका आसेपासे गाउँमा आँखा पाक्ने रोग फैलिएको थियो । यस रोगले धेरैलाई पीडाग्रस्त बनाएको थियो । रोगीसँग आँखा जुध्दा रोग सर्छ या तीव्र संक्रमित हुन्छ भन्ने मान्यता थियो । सायद यही विशेषता बुझेर होला उनले व्यंग्य गर्दै भनेकी । मैले पनि केही सोचविचार नगरीकन भनेँ, ‘त्यति राम्रा आँखासँग आँखा जुधाउन पाउनु त भाग्य नै हो क्यारे नि ।’
‘भो, तपाइलाई सर्छ मलाई पनि साथीको सरेको हो, ’ उनले आत्मीयतापूर्वक भनिन् ।
‘सरे सर्ला, एउटा सम्झनै हुन्छ । अर्काे कुरा, तपाईले सहन सक्ने पीडा म पनि सहन सकूँला नि, ‘मैले चुनौती दिँदै भने ।
‘तपाई त्यसो भन्नुहुन्छ भने मलाई के भो र,’ उनी लहसिएर मेरो छेउमा बसिन ्। उनको भद्दा स्पर्शले मलाई तरंगित बनायो ।
‘साह्रै दुखेको छ क्यो हो,’ मैले उनको आँखातर्फ हेर्दै भने । उनका आँखा राता राता भएका थिए, रगत चुहिएला जस्ता । परेला पनि निकै सुन्निएका थिए । लाग्थ्यो, ती उनका आफ्नै आँखा नभएर प्रत्यारोपण गरेका आँखा हुन् । तब उनले झरिरहेका आँसु रुमालले पुछिन् । उनका आँखा हेर्दामात्र मेरा आँखाका कोरा कोश रसाए ।
स्वभावतः उनी त्यहाँबाट गएपछि मेरा आँखा चिलाउन थाले । पोल्न र पिरोलिन पनि । दुवै आँखामा केही कसिंगर पसे जस्तो भयो । भित्रैबाट नराम्ररी सगसगायो । दुवै आँखाबाट बलिन्धरा आँसु वहन थाले । मलाई त्यसरी वहने आँसु नभएर कुनै बाक्लो लेदो पदार्थझैँ लाग्यो । अनि ऐना हेरे । आँखा चिम्लेर सुत्न मन लाग्यो । त्यति बेला मलाई आँखा पाक्ने रोग लागेको पक्का भयो ।
आज २ दिन भयो । आँखा दुखेको सञ्चो भएको छैन । दुवै आँखा घाइते सिपाहीजस्तै रक्तपच्छे छन् । घाम तर्फ हेर्न हुँदैन । आँखाभित्र झुसिलकीरा सल्याङमल्याङ गरे जस्तो लाग्छ । तर कन्याउनु आँखाको हित विपरीत हुन्छ भन्छन् । त्यसैले ओछ्यानमा पल्टिरहेको छु । एकदम अस्थिर भएको छ मन । सोच्छु, कति सुत्नु सुत्दा सुत्दै टाउको चट्केला जस्तो बोझिलो भयो । एकछिन डिलतिर गएर बस्नु प¥यो । फेरि उनी क्याम्पसबाट फर्कने बेला पनि भएको छ । तर आँखाले घाम सहदैन । कालो चश्मा लगाउँदा अलि शितल हुन्छ ।
पुलछेउ, काली खोलातर्फ फर्केर बस्छु । आउने जानेहरु, ‘आँखा दुखेको हो ? सर्छ यो रोग त,’ भन्दै टाढा भाग्छन् । कोही कोही त यतिसम्म भन्छन् , ‘आँखा दुखेको मान्छे किन बाटाछेउ बस्नु परेको, घरमै नबसेर ।’ उनीहरुको भनाइलाई म अन्यथा ठान्दिनँ । तैपनि म अटेरी बालकझै बसिरहन्छु ।’
केही समयपछि उनी आउँछिन । उनले मलाई सरसर्ती हेर्छिन् र खित्का छाडेर हाँस्छिन् ।
‘तपार्इँलाई पनि ………’, उनले विजयभाव अनुभूति गरे जसरी भनिन् ।
‘कहिलेकाँही संगतको परिणाम यतिविधि घातक बन्दो रहेछ भन्ने बल्ल थाहा भयो, ’ मैले व्यांग्यात्मक पाराले भनेँ ।
‘अँ होला, भाइरसबाट सर्ने रोग मबाट मात्रै सर्न सक्ने के प्रमाण छ ? यति बेला दुनियाका आँखा दुखेका छन् । फोकटमा दोष लाउन मिल्छ ?m’ उनले कडा जवाफ तर नरम भाषामा भनिन् ।
‘त्यस्तो प्रमाण त केही छैन तर अस्ति तपाईसँग भेट भएपछि यो हालत भएको हो क्यारे । मैले के भनम्,’ मैले आफ्नो पीर सुनाए ।
‘साच्चै जुधेर सरेको हो त ?’
‘मलाई त त्यस्तै लाग्छ ।’
‘जे होस्, नहुनु पर्ने भएछ, छिट्टै तपाईको आँखा निको होस्,’ उनले औपचारिकता पूरा गरिन् अनि आफ्नो बाटो लागिन् । उनलाई मेरा अस्वास्थ्य दृष्टिले पछ्याइरहन सक्दैनन् । आँखा चर्काे घामले पिरोलिन्छन् । मलाई झलक्क याद आउँछ, अनि कालो चश्मा लाउछु र उनी गएतर्फ
हेर्छु । उनी घुम्ती कटिसकेकी रहिछन् । निराश मन लिएर खोलातर्फ हेर्छु । पारी ब्रिटिस क्याम्प नियाल्छु । एउटा मनले ठान्छु, ‘कति निष्ठुरी मान्छे, एकै छिन गफ गरेर जाँदा के नै बिती जान्थ्यो र ?’
फेरि अन्तरमनबाट माया उर्लन्छ । म भावावेशमा कल्पन्छु, ‘उनी मेरी हुन्, मबाहेक अरु कसैको हुन सक्दिनन् । उनको सृष्टि केवल मेरा लागि भएको हो । त्यसैले उनका प्रत्येक अंग र अनुभवमा मेरा हक लाग्छ ।’
त्यसै बेला उनको हँसिलो स्वरुप मेरोअघि देखिन्छ । म चश्मा फुकालेर हेर्छु । अगाडि कोही देख्दिनँ । मलाई आफ्नोपन र मनौवैज्ञानिकसँग नराम्ररी डर लाग्छ । के कुरामा भने उनको अनुपस्थितिमा नै उनलाई देख्ने, या उनको स्वरुप सामुन्ने खडा हुने भनेको राम्रो संकेत होइन । मलाई लाग्छ, यस्तै हो भने एकतर्फी प्रेमले मलाई पागल बनाउन सक्छ ।




