नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुसुम) चयन भएकी छन् । दुई दिनदेखि पोखरामा जारी अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन् ।
प्रदेश समितिको मङ्सिर २५ गतेदेखी पोखरामा सुरु भएर आज विहान सम्पन्न प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो ।
शनिबार आकांक्षीहरू धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो। आइतबारदेखि बसेको बैठक अध्यक्ष टुंग्याउन सकस परेपछि सोमबार बिहानसम्म चलेको थियो । अब उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी दोस्रो बैठकमा निर्वाचित गरिने माओवादीले जनाएको छ ।




