महिला हिंसा : भ्रुणदेखि घाटसम्म

काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन टक्क अड्याउने खालको छ । चित्रको मुनि लेखिएको छ, ‘अनुचित भ्रूण परीक्षणपश्चात् अनावश्यक चिज (पीप जस्तै मानेर) खिलसहित निकाल्ने पापको पराकाष्ठा ।’ क्यानभासमा गर्भभित्रै कैँची चलाइएको मार्मिक दृष्यले एक पटक मानसपटल गुजुल्टिन्छ । त्यहाँबाट बगिरहेको रगतका धाराले समाजलाई गिज््याइरहेको भान हुन्छ ।

कानुनमा जतिसुकै समानताको कुरा लेखिए पनि र राज्यका निकायले बोलिरहे पनि व्यवहारत छोरी भएकै कारण भ्रूणबाटै महिलाको अस्तित्व समाप्त पार्ने अपराधका बग्रेल्ती उदाहरण समाजमा छ । त्यो भूणदेखि सुुरु भएको हिंसाको शृङ्खला मृत्यु घाटसम्म कायम रहन्छ । यही नै उनको चित्रकलाको मार्मिक पक्ष हो र ती चित्रमार्फत मानिसमा चेत भर्ने प्रयास गरिएको छ ।

महिलाहिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला चित्रकार पाण्डेले एक पटक समाजलाई बिउँझाउने खालको सिर्जना क्यानभासमा उनेर त्यही समाजलाई देखाउनुभएको हो । सोह्र वर्षीया पाण्डेले ३० चित्रमा भ्रूणदेखि घाटसम्म हुने अनेक हिंसालाई चित्रात्मक रुपमा देखाउँदै हुनुहुन्छ । पुख्र्यौँली घर गुम्मी भई हाल काठमाडौँ महानगरपालिका– १५ छाउनी बस्ने उहाँ हाल विज्ञान विषय लिएर कक्षा ११ पढ्दै हुनुहुन्छ । कथा, कवितामासमेत उहाँको रुचि छ ।

आजदेखि सुरु भई तीन दिनसम्म चल्ने प्रदर्शनीमा पाण्डेले भन्नुभयो, “पेटदेखि मृत्युघाटसम्म कुनकुन अवस्थामा महिलामा ती हिंसा हुन्छ भन्ने कुरा देखाएकी छु, समाजमा समानताका कुरा उठ्न थाले पनि महिला एक तह पछाछि नै छ भन्ने गलत सोच अझै जरामा छ ।” “कला सिर्जनाको औचित्य प्रष्ट्याउँदै उहाँले थप्नुभयो, “कलामार्फत सोचमा परिवर्तन गराउने मेरो सानो प्रयास हो ।”
महिलालाई घरको चार भित्तामै सीमित राख्ने अवस्थालाई सिर्जनामार्फत मानिसलाई महसुस गराई सोचमा परिवर्तन होस् भन्ने चाहनाका साथ प्रदर्शन गरिएको हो । यति सिर्जनामा उहाँको दुई वर्षको मेहनत छ । यद्यपि कोभिडका कारण केही ढिला गरी प्रदर्शन गरिएको हो ।
हजारौँ वेदना र आक्रोशमिश्रित आँसुले चित्र सिर्जनाको औचित्य पुष्टि गरिरहेको छ । मुहारमा मात्रै होइन शब्द, स्पर्श, रस, गन्ध, बुद्धि, मन र वृत्तिमा नै घुम्टो ओढ्न विवश ती महिलाका कथा र बेथा क्यानभासमा रङले दुरुस्त भरिएको छ । विवाहको लाइसेन्स लिएपछि महिलाका रहर, इच्छा, स्वतन्त्रता, निर्णय र अधिकारमाथिको नियन्त्रण समाजमा यत्रतत्र देखिँदै आएकामा उहाँले कलामार्फत चिरफार गर्नुभएको छ । दिमागमा छोरा र पेटमा छोरी हुँदाको भयानक परिणामलाई सहज संयोजनका साथ क्यानभास भरिएको छ । उहाँले लिङ्गपिच्छेको फरक मृत्युलाई अमूर्त कलामार्फत देखाउँदै समाजलाई सचेत बनाउन खोजेको स्पष्ट बुझिन्छ ।

आफ्नो अश्रुधारा थापेर जीवनको तिर्खा मेट्न विवश महिलाका वेदना पनि चित्रमार्फत सुन्दर रुपमा प्रस्तुत गरिएको छ । कलाकार रसना बज्राचार्य उहाँका चित्र आफैँ बोलिरहेको छ भन्नुहुन्छ । “दर्शनशास्त्रमा महिलालाई देवीका रुपमा हेरिने गरिन्छ तर समाजले कसरी हेरिरहेको छ, सुप्रियाको सिर्जनामा स्पष्ट छ”, बज्राचार्यले थप्नुभयो । कलाको सुन्दर संयोजनले उहाँको कलामा निखारपन छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य समसामयिक र जल्दोबल्दो विषय रहेकाले उहाँको एकल चित्रकला प्रदर्शनीको उच्च महत्व रहेको स्पष्ट गर्नुुहुन्छ । उहाँले कलिलै उमेरमा सुप्रियाले भाव, विषय र कलायुक्त कृति समेटेको बताउनुभयो । कोरोनाका कारण हजारौंँले ज्यान गुमाए तर त्यसले सुप्रिया जस्ता कलाकारका सिर्जना फुलाउने कामसमेत गरेको उहाँले जनाउनुभयो । “देवीका रुपमा नारीलाई सम्झने गरिए पनि व्यवहारमा फरक रहेको र त्यही पीडा उहाँका ३० सिर्जनामा स्पष्ट छ”,उहाँले भन्नुभयो ।

कलालाई घण्टौँ लगाएर साधना गर्न सक्ने क्षमता सुप्रियामा रहेको उल्लेख गर्दै उहाँका पिता डा रवीन्द्र समिर सुझावात्मक भनाइका साथ भन्नुहुन्छ, “अभिभावकले बालबालिकासँग दिनको आधा घण्टा समय दिनसक्यो भने पनि उनीहरुलाई समाज बुझ्न र सिर्जना तिखारिन सहयोग गर्छ, हामीले त्यो वातावरण दिने प्रयास गरिएको मात्रै हो ।” प्रदर्शनीका आयोजक टिम निपोका अध्यक्ष डा निगम पौडेल यस क्षेत्रकै सम्भावना बोक्नुभएका कलाकारका रुपमा आफूले पाण्डेलाई बुझेको बताउनुभयो ।