यात्रुहरुले बस कोचम -कोच थियो। चोक पार गरेपछी बसले घ्याच्च ब्रेक लाग्यो। लामो प्रतिक्षा पछी बस आएको हुँदा यात्रुहरु ठेलम-ठेल गरेर बस भित्र चडे। बसले बिस्तारै आफ्नो गती लियो। यतिकैमा भर्खरै बस भित्र चडेका एक जना यात्रुको मोबाईलको घन्टी बज्यो। आक्रोशित र हतार जस्ता देखिने ति यात्रुले फोन उठाए र भने – म अहिले बस भित्र मान्छेहरुको भिड्मा छु। धेरै कुरा गर्न मिल्दैन। भन के भयो? फोन गर्ने मानिसले के भन्यो बुझिएन तर ती फोन उठाउने ब्यक्तिले अली हकारेको आवाजमा भने – “त्यो मान्छे ज्यादै ज्याद्रो छ, अलिकती तल-माथि भयो भने बबाल गर्दछ। त्यसैले होसियार पुर्वक काम गर्नु। अहिले तिमी हातहरु मात्र काट, गला म आएर आँफै काट्ने छु। फोनमा हात र गला काट्ने कुरा सुन्नेहरु आत्तिए र डराए। ओहो यो त खुन्खार अपराधी पो रहेछ भनेर उनिबाट टाढा हुन खोजे। उनी नजिकै सिटमा बसेका यात्रुहरु समेत आफ्नो सिट छोडेर भागे। सिट खाली भए पछी ति यात्रु मज्जाले सिट्मा बसेर यात्रा गरे। पछि बुझ्दा थाहा भयो, उनी कुनै खतरनाक अपराधी नभएर एउटा सुचिकार रहेछन र आफ्नो छोरालाई कपडा काट्न भन्दै थिए।
जसरी सुचिकारको फोन वार्ता सुनेर उनी बारे धारणा बन्यो त्यसरिनै नेपालका संसदीय कम्युनिष्टहरुको भाषण सुन्दा र दस्ताबेज हेर्दा त नेपालमा समाजवाद र साम्यवाद ल्याई दिने यिनै हुन जस्तो भ्रम पर्दछ। त्यसैले कस्ले के भन्यो भन्दा पनि के गर्यो वा गर्दैछ तिनिहरुको कर्ममा भर पर्दछ। अलिशान महल र ह्बेलिमा बस्ने, सयौको सरकारी सुरक्षा घेरामा सरकारी र भस्ट्राचारको रकमबाट सामन्त जीवनसैली बिताउने, आँफैले आफुलाई अलङ्कारीत गर्ने, ढाट, झुट, ठग, गफाडी, भस्ट्राचारी र बेईमानीहरुलाई अझै क्रान्तिकारी देख्नु हाम्रो दृष्टि दोष हो। बामपन्थी र दक्षीणपन्थी छुट्याउन नसक्नु हाम्रो कमजोरी हो। राजनीति वर्गिय हुन्छ। जव राजनीतिक नेतृत्वको वर्ग परिवर्तन हुन्छ त्यो पार्टीले लिने लाईन पनि आफ्नो वर्गिय हित अनुकुलन हुने गर्दछ। राजनीतिलाई ब्यबसाय बनाउने, धन्दा गरेर जिबिकोपार्जन गर्ने, च्याखे दाउ थापेर कमाउ बनाउने पार्टी, नेता र कार्यकर्ताले देशलाई भडखालो तिर पुर्याउदा मुक दर्शक हुनु हाम्रो बिड्म्बना हो।
माथि उल्लेखित कुरा कुनै आग्रह पुर्वाग्रह र अचेतन मनको बहकाउ होईन। कम्युनिष्टहरुले प्रयोग गर्ने बुर्जुवा वर्ग र अहिलेका संसदिय कम्युनिष्टहरुको चरित्र सँग तुलना गर्यो भने थप प्रष्ट हुन्छ। “बुर्जुवा बर्ग” भनेको अनुदार, परम्परावादी पुरातन र रुढिवादी भक्तिभाव सोच वा बिचार राख्ने उच्च कुलिन बर्ग हो। मार्क्सवादी सिद्धान्त अनुसार उत्पादनका साधनहरु, बजार र बित्तिय क्षेत्रमा एकलौटे स्वामित्व र नियन्त्रण राख्ने बर्ग बुर्जुवा हो। त्यसै गरी श्रमको माध्यमबाट जीवन गुजरा गर्ने वर्ग सर्वहारा बर्ग हो। बुर्जुवा बर्ग र श्रमजिवी बर्ग बिचको संघर्ष नै बर्ग संघर्ष हो। हिजोको झापा बिद्रोह, महान जनयुद्द र ऎतिहासिक जन-आन्दोलन देखी अहिलेको दलाल संसदीय राजनीतिमा आउँदा जुन बर्गको बिरुद्द आधी-बेहरी ल्याईेएको थियो अन्तत नेतृत्व सोही बर्गमा बिलए भए। दलका नेतृत्वले नै आफ्नो बर्ग परिबर्तन गरी दिए। हिजो चप्पलले सडक किनरामा धुलो उडाउदै हिडने जनताका सिपाहीहरु आज सरकारी सिपाहीको सुरक्षामा हिंड्ने भए। सत्ता र शक्तिको बलजफ्ती उपभोगले उत्पादनका साधनहरुको ठुलो हिस्सा आफ्नो नियन्त्रणमा ल्याए। “पिर्के सलामी” देखी “तोपको सलामी दिने मलामी” जाने उच्च कुलिन बर्गमा रुपान्तरित भए। बार्दलिको बादशाह देखी हबेलीका मुखिया सम्मको दैनिक कृयाकलाप, संगत, उठबस, जीवनशैली, सान, मान, रौनक, सम्पत्ति र रवाफ कुन कुलिन बर्ग भन्दा कम छ? उत्पादनका साधन, बजार र बित्तिय क्षेत्रमा उनिहरुको पहुच र नियन्त्रण कसैले आकलन गर्न सक्दछ?
उनीहरुका बैठकमा कही कतै भुईमान्छेको हितमा निर्णय भए गरेको सुन्नु देख्नु भएको छ? आफ्नो कुल, बंस, परिवार, मतियार र चाटुकदार बाहेककाले कुनै लाभको पदमा पुगेको देख्नु भएको छ? अदक्ष श्रमिक उत्पादन गर्ने बुर्जुवा शिक्षा प्रणालीमा केही फरक ल्याएका छन? उखु किसान र चिनी मिल मालिक मध्य को नजिक को टाढा, त्यसले कृषिको हालत देख्न सकिन्छ? कात्रोमा समेत कमिसन खानेहरु पनि बामपन्थी र क्रान्तिकारी हुने कस्तो पद्दति ल्याए ? यिनीहरुको क्रान्तिकारी र मार्क्सवादी शब्दजाल बौद्दिक लफ्फाजी मात्र हो। स्वाथ्य, शिक्षा, रोजगार, जनतन्त्र र जन-जिविकाका सवालहरु किन राष्ट्रिय मुद्दा बनाईदैन? भस्ट्राचार, कुशासन र राष्ट्रियताका बिषयमा किन कुरा चपाईन्छ? यि सबैको सिधा उत्तर हो दलाल संसदीय ब्यबस्थाका कम्युनिष्ट पार्टिको नेत्रित्व बुर्जुवा बर्गमा रुपान्तरित भयो। बुर्जुवा बर्गले सर्बहारा बर्ग र निम्न बर्गको हितमा काम गर्दैन।
विश्व ईतिहासबाट हामीले सिकेको कुरो हो- संसोधनवादले अन्तत लैजाने भनेको दक्षिणपन्थमा नै हो। एउटा खास उदेश्य लिएर कुनै राजनीतिक दर्शनको आधारमा राजनीतिक गतिविधी गर्दा गर्दै बाहय एव आन्तरिक परिस्थितिमा स्थिर रहदा रहदै आफ्नो राजनीतिक उदेश्य पुरा नहुँदै फरक बाटो वा दर्शन अबलम्वन गर्नु संसोधनवाद हो। संसोधनबादले कम्युनिष्ट पार्टी दक्षिणपन्थी भासमा पुदछ। दक्षिणपन्थीहरु स्वभावले ईतिहासको गौरवगाथा गाउदछन र क्रान्ति वा आमुल परिवर्तन सँग डराउदछ। अहिलेका संसदीय कम्युनिष्ट पार्टिहरुको स्वाभाव ट्याक्क यस्तै मेल खान्छ।
दलाल संसदीय ब्यबस्थाले लोक कल्याणकारी राज्यको स्थापना गर्न सक्दैन तर पनि यिनीहरु समाजवाद र साम्यवाद ल्याउने गफ गर्दैछन। विश्व ईतिहास हेर्ने हो भने समाजवाद चुनावबाट, होम कृतन गरेर, धुप बालेर,, हनुमान चालिसा पढेर वा उपबास बसेर आउँदैन। यि र यस्तै भष्ट्र र नैतीकता गुमाई सकेकाहरुको धुतुनो देखाएर चुनाबमा आउने भोट्ले समाजवाद आउँदछ भन्ने कुरामा तपाईंलाई विश्वास लाग्दछ?
यहाँ उनीहरुलाई गाली गरेर, धारे हात लगाएर वा सराप दिएर आफ्नो कर्तब्य पुरा हुँदैन। आम जनता र खास गरी पार्टी भित्रका कार्यकर्ताहरुले गम्भिर समिक्षा गर्नु पर्दछ। स्वास्थ्य, शिक्षामा व्यापारीकरण, राष्ट्रियतामा नेताहरुको निजी स्वार्थको आधारमा अपव्याख्या वा मौनता, निती निर्माणमा “हुँदा खाने बर्ग र हुने खाने बर्गमा” बिभेद जस्ता बिषयमा सुक्ष्म बिस्लेषण गरिनु पर्दछ। हामी कता जादै छौ? कस्तो ब्यक्तिले नेतृत्व गरेका छन? के अहिले अबलम्बन गरेको निती, कार्यक्रम र नेतृत्वले हामीले परीकल्पना गरेको लोक-कल्याणकारी राज्यको र समाजवाद निर्माण संभव छ? यदी छैन भने कि आफुलाई हनुमानकरण गरी प्रभुको चरण अर्पित गर्नु पर्यो होईन भने रचनात्मक आलोचना गर्ने र आवश्यक परे बिद्रोह गर्ने हिक्मत राखौ। पुरेतले जम्मा गरेका गाईहरुबाट आस्तिकलाई बैतरणी नदि त पार गराउला तर ब्यबसायिक गाई फार्म चलाऊन सकिदैन।




