शिव आर्य देवता होइनन् !

शिवको कल्पना आर्यतर कल्पना हो जुन द्रविड संस्कारबाट आएको थियो । शिवको तमिल नाम ‘सिवन्’ हो जसको अर्थ रातो वर्ण भन्ने हुन्छ । यसैगरी संस्कृतको ‘शम्भु’ शब्दको तुलना तमिलको ‘सेम्बू’ शब्दसँग मिल्दछ जसको तमिल अर्थ तामा वा रातो धातु भन्ने हुन्छ । आचार्य रामचन्द्र दीक्षितका अनुसार ऋग्वेदमा प्रयुक्त रुद्रको अर्थ पनि रातो भन्ने हुन्छ । यसबाट अनुमान गर्न सकिन्छ कि तत्कालीन समयमा द्रविडहरुमाझ रातो वा ताम्रवर्णका प्रतापी व्यक्ति (देवता) थिए र उनै आर्यहरुका मरुतका स्वामी रुद्रमा परिणत भए । आष्ट्रिकहरुसँग पनि जुन जङ्गली देवता थिए तिनको गुण पनि रुद्र वा शिवको जस्तै थियो । लामो समयक्रममा शिवको रुप पनि विकसित हुँदै गयो ।

शैव धर्म प्राग्वैदिक (संभवतःद्रविड) संस्कृतिको उपज थियो । ऋग्वेदमा रुद्रलाई वाण सरह चम्कने भनिएको छ । प्रकृतिको रमणीय रुप उषादेवीको कल्पना गरेझैं प्रकृतिको भयानक रुपमा रुद्रको कल्पना गरिएको थियो । मोहन जो दारो र हरप्पामा योगस्थ शिव र साँढेको मूर्ति भेटिनुबाट अनुमान गर्न सकिन्छ कि आर्यहरुको आगमनपूर्व नै त्यहाँ शिवको पूजा प्रचलित थियो । शिव पुराणमा ऋषिहरु शिवसँग रिसाएर श्राप दिएको र त्यसबाट उनको लिङ्ग नौ टुक्रा भएको उल्लेख छ । शिवपुराण अनुसार पनि हिन्दूहरु शिवको प्रसाद खान निषिद्ध ठान्दछन् ।

जव आर्यहरुको द्रविडसँग विवाह सम्बन्ध हुन थाल्यो तव द्रविड स्त्रीसँगसँगै शिव भावनाले पनि घरमा प्रवेश पायो । त्यस बेलाको नारी प्रधान समाजमा त्यसलाई आर्य पुरोहितहरुले चाहेर पनि रोक्न सकेनन् । त्यतिखेर अधिकतर ऋषिपत्नी आर्यतर वा शूद्र कुलका थिए । यसैले पनि शिव र ऋषिहरुवीच कटुता थियो ।

शिव सम्बन्धी कल्पनामा आष्ट्रिक र नीग्रो संस्कृतिको देन रहेको पाइन्छ । प्रारम्भमा रुद्र–शिवको सम्बन्ध जङ्गली जातिहरुमा रहेको थियो । जङ्गली जातिहरुमा प्रचलित देवताका गुण पछि आएर रुद्र–शिवको कल्पनामा जोड्न पुगे । शिवले भाङ–धतुरो खाने, मसानमा बस्ने, सर्पको माला लगाउने, खरानी घस्ने जस्ता कुराहरु जङ्गली मानिसका संस्कारमा आएका थिए जो सर्पपूजक थिए । द्रविडहरु सभ्यता वा संस्कृतिमा उच्च थिए भने आष्ट्रिक र नीग्रोहरु जङ्गलमा वा गाउँबाहिर वस्दथे जसको सभ्यता अविकसित थियो ।

लिङ्गपूजाको प्रचलन पनि आर्यहरुको आगमनपूर्व नै प्रचलित थियो । उनीहरु शिश्न देवताको पूजा गर्थे । शैव धर्म प्राग्वैदिक थियो भन्ने कुरा पुराणमा सर्वत्र शङ्कर असुरहरुका पक्षपाती भएबाट पनि थाहा हुन्छ । प्रायः सारा दैत्यहरु शिवभक्त भएको कुरा पुराणमा पाइन्छ । रावण पनि शिवभक्त थियो । यसैले पनि भन्न सकिन्छ कि शिव आर्यतर देवता थिए र ऋषिहरुले यिनलाई अनिच्छापूर्वक स्वीकारेका थिए ।

गणेश पनि आर्यतर देवता थिए । यजुर्वेदमा भेटिने—‘गणनात्वा गणपति…’ गणेशस्तोत्र नभएर अश्वमेधको अश्वको गणपतिलाई सम्बोधन गरिएको हो । वैदिक साहित्यमा गणेश कतै भेटिँदैनन् तर गुप्तकाल (ईशाको प्रथम–तेस्रो शताब्दी)मा लेखिएको मानिने पुराणमा भने उनी सर्वत्र भेटिन्छन् । अनार्य र आर्यहरुमा एक अर्काको प्रभाव भेटिनु स्वाभाविक थियो । कतिपय जङ्गली र निम्नकोटिका मानिसहरुले त्यतिखेर नयाँ देवताहरु सिर्जना गरेका थिए । त्यस्ता देव–देवता असभ्य जङ्गली मानिसका बीच पूज्य थिए । तिनका आकृति पशुपंक्षी जस्ता वा प्रेत–पिशाच जस्ता हुन्थे ।

यसैले आर्यहरुले नाग, लाटोकासेरो र साँढेमाथि चढ्ने देवाताका साथै गधा वा कुकुरमाथि सवार भैरव अनि मुसामाथि चढ्ने, हात्तीमुखे गणेशको कल्पना गरे ।
यसरी देवताहरुको कल्पना असभ्य र जङ्गली अवस्थादेखि सुरु भएर आर्यसभ्यतासम्म आउँदा कतिपय थपिँदै, कतिपय हराउँदै, कतिपय आपसमा मिसिँदै र विकसित हुँदै अहिलेको अवस्थासम्म आइपुगेको पाइन्छ । (विभिन्न ग्रन्थहरुको अध्ययनमा आधारित)