प्रधानपञ्च केसीसँग ‘अत’को पत्रकार हुँदाका सम्झना

तत्कालिन श्री ५ को सरकार सूचना बिभागबाट पत्रकारिताको अनुमति पत्र (लाईसेन्स) प्राप्त गरिसकेपछि साना-ठूला पन्चहरु संग मेरो भेट हुन् थाल्यो। बरिष्ट पत्रकार शक्ति लम्सालको सम्पादन र यदु गौतम (रुकुम) को क्रियासिलतामा क्रान्तिकारी कम्युनिष्ट धारको बैचारिक खुला मुखपत्रको रुपमा “योजना” साप्ताहिक प्रकाशित हुन्थ्यो र म त्यसको पश्चिमाअञ्चलको प्रतिनिधिको रुपमा कार्यरत थिए।

मेरो सम्पर्क कार्यालय पोखराको बगरमा थियो र समयान्तरणमा पत्रिकाको कार्यालय पार्टीको सम्पर्क कार्यालय नै थियो जहा अहिले सत्ताको भोग र रजाई गरिरहेका प्राय धरै नेताहरु चप्पल पडकाउदै, धुलो उडाउदै पुराना कपडामा जिरिङ्ग परेको कपाल कन्याउदै आउनु हुन्थ्यो । उनीहरुको त्यो बेलाको जीवन शैली, क्रान्ति र मुक्ति प्रतिको समर्पण र आज तिनै अनुहार देख्दा लाग्छ मैले कुनै दन्त्य कथाको स्मरण गर्दै छु।

म औपचारिक “पत्रकार” भएपछि तत्कालिन पोखरा नगर पंचायतका प्रधानपन्च स्व. सूर्यबहादुर केसीसंग मेरो भेट भएको थियो। पंचायती राजमा नगर पंचायतका प्रधानपन्च स्व. सूर्यबहादुर केसी अहिले जस्तो हनुमान र बिचौलियाहरुको घेरामा हुदैनथे, भेट्न र दोहोरो संवाद गर्न सकिन्थ्यो। हुन त उनि संग कहिल्यै एक्लो भेट भएन कोही न कोहि मण्डले, पनिजाबुसको मान्छे वा अरु कोहि हुने गर्दथे। पंचायतको त्यो काल खण्डमा पनि आफु ईतर (उनीहरुको भाषामा अत -अरास्ट्रिय तत्व) को पृष्ठपोषण गर्ने पत्रकारलाई सहज भेट र कुराकानी हुन्थ्यो।

नगर पंचायतभित्र हुने बेथिति र भ्रष्टाचारको समाचार छापिदा उनि पडकिन्थे तर तपाईको समाचारले मैले मेरा केटाहरुलाई भन्न सजिलो भएको छ पनि भन्थे।

उनले मलाई चौथो अंग भाई भन्थे र कम्युनिष्ट राजनीतिबाट पार लाग्दैन भनि उपदेश दिन्थे। नगर पंचायतभित्र हुने बेथिति र भ्रष्टाचारको समाचार छापिदा उनि पडकिन्थे तर तपाईको समाचारले मैले मेरा केटाहरुलाई भन्न सजिलो भएको छ पनि भन्थे। सायद उनि एउटा सफल ब्यबसायी भएर हो वा उनको चरित्रले गर्दा हो अहिले जस्तो आन्तरिक सेटिङ्ग हुने र भ्रष्टाचारमा प्रत्यक्ष र परोक्ष सग्लन भए जस्तो लाग्दैनथ्यो।

एक पटक पोखरामा तत्कालिन राजा – रानीको भ्रमण हुने भयो। त्यस बेलामा राजा-रानीको स्वागत पनि गणतन्त्र नेपालका रास्ट्रपति वा प्रधानमन्त्रीको भ्रमणमा जस्तै हुने गर्दथ्यो। सायद अहिलेका रास्ट्रपति वा प्रधानमन्त्रीले पनि त्यसैको देखासिकी गरि आफुलाई महान र सम्मानित देखाउने अझै बढि ताम-झाम, तडक-भड्क गरे जस्तो लाद्गछ। राजा-रानीको भ्रमणको स्वागतको लागि पोखरामा कृयाशिल सबै पत्रकारहरुलाई दौरा-सुरुवाल लगाएर एयरपोर्ट्मा उपस्थित हुन् उर्दी जारि भयो जसरी आज स्कुलका बाल-बालिकाहरुलाई नेपालका अति विशिष्ट व्यक्तिहरुको भ्रमणमा उपस्थिति गराईन्छ।

स्वागतको लागि पहिलो लाईन पन्चहरु,अञ्चलाधिस र सरकारी हाकिमहरु र दोस्रोमा पत्रकारहरु त्यसपछि अरु मर्यादा अनुसार। स्वागतमा उभिनेहरूले आफ्नो टाउको झुकाउनु पर्ने र आखा जुधाएर हेर्नसमेत नपाईने। यो भ्रमण मेरो गलपासो बन्यो। स्वागतको लागि नजाउ भने अनिवार्य उपस्थितिको उर्दी, जाउ भने राजा-रानीको अगाडि झुके पछी मेरो आदर्श, विश्वास र चेतनाको टाउको फेरी कहिल्यै ठाडो नहुने गरि झुक्ने। हुन् त राजा संग पटक पटक टाउको झुकाउनेहरु र बिन्तीपत्र हाल्नेहरु गणतन्त्रमा पनि आफ्नो अनुभव अनुसारकै व्यवहार गर्दैछन्।

पंचायतको चर्को राप र ताप भएको बेलामा होस् वा राप्रपा वा काग्रेसको राजनीतिमा होस स्व. सूर्य बहादुर केसीले केहि ईमानको राजनीति गरे ।

यो देख्दा मेरो टाउकोले आफ्नै टाउकोलाई प्रश्न गर्दछ र मेरो ठाडो टाउको लज्जित हुने गर्दछ। बरु जे पर्ला सहला व्यहोर्न भनि म त्यो स्वागत पङ्गतिमा सामेल भईन । स्वागतमा हाजिर नहुदा प्रधानपन्च स्व. केसीले नगर पंचायतको बिज्ञापनको रकम रोक्ने धम्कि दिए तर पछि भुक्तानी भयो । स्व. केसी उदार र आफ्नो राजनीतिसंग असहमत हुनेहरु संग पनि सहिस्णु थिए ।

राजारानीको जन्मोत्शव लगायत दरवार सम्बन्धित दिवसमा नगर पंचायतको तर्फबाट अनुमति र स्वीकृति नलिई शुभ-कामना प्रकाशित गरिन्थ्यो र कर्मचारीहरुले भुक्तानी रोक्दा समेत स्व. केसीले भुक्तानी दिन आदेश दिन्थे । अरु सबै पंचायती दरवारको झैँ दुरुस्तै उस्तै हुदासमेत अहिलेसम्म रास्ट्रपति र प्रधानमन्त्रिहरुको जन्मदिनमा सार्वजनिक बिदा र सार्वजनिक कार्यक्रम चाहि भएको छैन किन होला ?

पंचायती राजमा पोखरामा राधेश्याम कमारो र उत्तम पुनको हाली-मुहाली बढेपछि स्व. सूर्यबहादुर केसी अलि बढी ब्यापार तिर लागे जस्तो लाद्छ । तत्कालिन कम्युनिष्टको एउटा धार “जनपक्षिय” पन्चको रुपमा पंचायती चुनावमा सहभागी भएपछी स्व. सूर्य बहादुर केसीका केहि सहयोगी र मण्डलेहरु पनि जनपक्षिय हुदै गए र सत्ता र शक्तिको पछि निरन्तर पछ्याई रहेका छन् ।
पंचायतको चर्को राप र ताप भएको बेलामा होस् वा राप्रपा वा काग्रेसको राजनीतिमा होस स्व. सूर्य बहादुर केसीले केहि ईमानको राजनीति गरे । सूर्यबहादुर केसीको ६३ बर्षको असामयिक निधनमा उनि प्रति हार्दिक श्रन्दाजली र परिवार जनमा हार्दिक सहानुभूति प्रकट गर्दछु ।