‘होटल सञ्चालकलाई हतोत्साहित नपारौं’

बागलुङ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले कोरोना कहरमा होटलहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिइएको विषयलाई लिएर अनर्गल प्रचार नगर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष निलेश राजभण्डारीले आइतबार विज्ञप्ति निकालेर सदरमुकामका केही होटललाई क्वारेन्टिन बनाइए पनि समाजमा अनेक हल्ला व्यप्त भएकाले संस्थाको ध्यानकार्षण भएको जनाएका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेका मापदण्ड बमोजिम क्वारेन्टिन सञ्चालन गरिएको उल्लेख गर्दै होटल व्यवसायीलाई संक्रमण भएको, समाजमा अरुलाई जोखिम भएको भनी नियोजित र भ्रमात्मक प्रचार गरिएको भन्दै अध्यक्ष भण्डारीले यसको खण्डक गरेका छन् ।

क्वारेन्टिन बनाउँदा होटलको खर्चसम्म पनि नधानिने उल्लेख गर्दै उनले यो महासंकटमा आफूहरु विचलित नभई राष्ट्रलाई सहयोग गर्न प्रतिवद्ध रहेको उनले जनाएका छन् ।