फेदीखोलामा दीपप्रजलनसहित श्रद्धाञ्जली शभा

फेदीखोला दलित एकता समाज फेदीखोला स्याङ्जाले दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गर्दै रुकुम घटनाका दोषीहरुलाई हदैसम्मको कारबाही माग गरेको छ ।

सामाजिक अभियन्त्ता विनोद सुनामले रुकुम घटनालाई मानवताविरोधी अपराधको संज्ञा दिदै घटनाको निष्पक्ष छानबिन गरी त्यसका अपराधीहरूलाई विद्यमान कानुनकै मातहत पनि हदैसम्मको कारवाही र दण्डको व्यवस्थाका लागि राज्यसँग माग गरे ।

उनले राज्यले छुवाछूत र जातीय विभेद मुक्त गरे पनि व्यबहारमा लागू नहुँदा रुकुम हत्याकान्ड घट्न गएको भन्दै प्रेम गरेकै आरोपमा अपमानित हुनुपर्ने, ज्यानै लिनेसम्मका घटना हुनु दुखद् भएको भन्दै त्यस्ता घटनाको जति बिरोध गरे पनि कम हुने भन्दै आमूल परिवर्तनका लागि सम्पूर्ण प्रगतिशील बुद्धिजीवीहरु एक भएर अगि बढ्नुपर्ने विचार राखे ।

फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदीले स्थानीय सरकार ब्यबहारिक रुपमै छुवाछूत उन्मुलनमा प्रतिबद्ध रहेको भन्दै सरकारले छिट्टै छानबिन गरेर दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरे । सानैदेखि जातीय विभेद र छुवाछूतको बिरोध गर्दै राजनीतिमा प्रवेश गरेको भन्दै सुवेदीले जनस्तरमै छुवाछूत र विभेद उन्मुलनको लागि पालिका स्तरीय विविध रचनात्मक कार्यक्रम गरिने पनि बताए ।

वाम बुद्धिजीवी लक्ष्मीप्रसाद बरालले जातीय विभेदविरोधी चेतना राख्ने सबै तह र तप्काका नागरिकलाई एक स्वरमा सामाजिक रुपान्तरण लागि राज्यमाथि चौतर्फी दबाव सिर्जना गर्न आह्वान गरे ।

दीपप्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमा समाजसेवी विश्वबन्दु पौडेल, वडा सदस्य असु विक, राजनीतिकर्मी डिबी मिजारले पनि बोलेका थिए ।