मुस्ताङको लोमान्थाङ वडा नं. ४ नेचुङमा बिहीबार सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट स्थापना भएको छ ।
शसस्त्रका एआइजी नारायणबाबु थापा र गण्डकीका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले संयुक्त रुपमा पोस्ट उद्घाटन गरे । नेपाल चीन सीमाबाट नेचुङको यो पोस्ट करिब ५ किमीयता पर्छ । पोस्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २० सशस्त्र प्रहरी खटिने छन् ।
अहिले नेचुङ भन्सारको क्वारेन्टाइन रहेको स्थानमा पोस्ट स्थापना गरिएको छ । भवनका लागि ३३ रोपनी जग्गा छुट्याइसकिएको छ । प्रदेशसभा सदस्य विष्टले बोर्डर पोस्ट स्थापनालाई नाका खुल्ने संकेतको रुपमा लिनुपर्ने उल्लेख गरे । कोरला नाका सञ्चालन भएपछि मुस्ताङको पर्यटन र विकासले फड्को मार्ने उल्लेख गरे । उनले भने, ‘आर्थिक रुपमा त यसले हामीलाई फाइदा दिन नै छ, पर्यटन विकास र देशलाई नै आत्मनिर्भर बन्न पनि सघाउनेछ ।’
एआइजी थापाले यो गण्डकी प्रदेशको मात्र नभएर देशकै लाइफलाइन नाका भएको बताए । उनले नाका सञ्चालनका लागि आत्यवश्यक भएकाले पोस्ट स्थापना गरिएको उल्लेख गर । उनले यसरी नै सीमा सुरक्षालाई केन्द्रीत गरी किमाथांका र दार्चुलामा पनि बोर्डर पोस्ट स्थापनाको तयारी भएको जानकारी दिए ।
टोलीले कोरोना नाका अवलोकनसमेत गरेको छ ।




