अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेका छन्।
मंगलबार एक ट्वीटमा ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेका हुन्।
उनले ट्वीटमा भनेका छन्,‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ। हामी पहिलेभन्दा अझ बलियो बन्नेछौं।’
ट्रम्पले विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसलाई चाइनिज भाइरस भनेपछि उक्त ट्वीट जातिवादी भएको भन्दै ट्रम्पको विश्वभरबाट आलोचना भइरहेको छ ।
कोरोना भाइरस चीनको हुपेइ प्रान्तको वुहान शहरमा पहिलोपटक देखिएको थियो। हालसम्म यस भाइरसका कारण १ लाख ८२ हजार ७२५ संक्रमित बनिसकेका छन् । यसका कारण ७ हजार १७४ को मृत्यु भइसकेको छ।
यो भाइरस विश्वका १ सय ५० भन्दा बढी मुलुकमा फैलिसकेको छ । अमेरिकामा पनि कोरोनाका कारण ९३ जनाको मृत्यु भएको छ भने ४ हजार ७२७ संक्रमित छन्।
व्यापार युद्धमा रहेका विश्वका दुई शक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र चीनबीच पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोना भाइरसबारे पनि आरोप/प्रत्यारोपमा छन्।





