कोरोना भाइरस संक्रमणका कारण २१ वर्षीया स्पेनी फुटबल कोच फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ।
फ्रान्सिस्को गार्सियाले मालागामा आधारित क्लब एटलेटिको पोर्टडा अल्टाको कनिष्ठ टोलीको प्रबन्ध गरेका थिए। भाइरसको गम्भीर लक्षण देखिएपछि अस्पताल लगिएका उनलाई डाक्टरहरूले रक्त क्यान्सर पनि भएको पत्ता लगाएका डेली मेलले जनाएको छ।
तर उनको तत्काल मृत्युको कारण भने कोरोना भाइरसको संक्रमण नै रहेको बताइएको छ। यो भाइरस संक्रमणबाट मृत्यु हुने अहिलेसम्मका उनी विश्वकै सबैभन्दा कान्छो व्यक्ति हुन् ।
चीनको वुहानबाट सुरु भएको यो भाइरसको संक्रमणबाट ५ हजार बढीले ज्यान गुमाइसकेका छन्।
स्पेनमा भाइरस संक्रमणबाट सोमबारसम्म मर्नेको संख्या ३ सय २९ पुगेको छ । ९ हजार १ सय ९१ जना संक्रमित भएका छन्।




