पोखरा स्थित विभिन्न अस्पतालमा भएको रगत अभाव तथा कोरोना भाईरसको संक्रमणका कारण आगामी दिनमा हुनसक्ने रगत अभावलाई मध्यनजर गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले शनिबार पोखरा महानगरपालिका-४ चिप्लेढूगा स्थित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद व्यवस्थापन शाखाको संयोजन तथा नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको प्रावधिक सहयोगमा भएको उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा अन्य आम नागरीकले रक्तदान गरेका छन् ।
आम नागरीकको जिउधनको सुरक्षा साथै देशको शान्ति सुरक्षा तथा अमनचयनका निमित्त अहोरात्र तल्लिन रहने नेपाल प्रहरीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अस्पतालमा रगत अभाव भएका बिरामी नागरिक तथा आगामी दिनमा हुनसक्ने रगत अभावको पुर्तिका लागि गरेको उक्त रक्तदान कार्यक्रम अत्यन्तै लाभकारी एवं पुण्यकारी हुने विश्वास लिईएको छ ।
कार्यक्रमका प्रमुख अथिति गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हरि बहादुर चुमानले ब्लड ब्याग हस्तान्तरण गर्दै विधिवत रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति मन्त्री हरि बहादुर चुमानले समग्र विश्वनै अहिले कोरोना भाईरस विरुद्ध एकजुट भएर लडिरहेको परिप्रेक्षमा गण्डकी प्रदेश सरकारले समेत आगामी दिनमा हुनसक्ने सम्भावित चुनौतीहरुलाई मध्यनजर गर्दै आफ्नो तयारी गरिरहेको बताउँदै रक्तदान कार्यक्रम समेत त्यसकै एक अंग भएको बताए ।
गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले रक्तदान कार्यक्रमको अवलोकन गरेका थिए । गन्डकी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्णले मुख्य मन्त्री गुरुङलाई कार्यक्रमको वस्तुस्थिति बारे जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले विभिन्न अस्पतालमा उपचारार्थ बिरामीहरुले रगत अभावकै कारण ज्यान गुमाउन नपरोस साथै आगामी दिनमा हुनसक्ने रगत अभावलाई समेत पुर्ति गर्न सकियोस भन्ने अभिप्रायले सञ्चालित उक्त कार्यक्रमबाट थुप्रैले जिवनदान पाउनेमा आफू विश्वस्त रहेको बताउँदै आयोजक निकाय गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रति धन्यवाद व्यक्त गरेका थिए ।
१२१ जनाले रक्तदान गरेको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी. गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, अन्य सरोकारवाला निकायका प्रतिनिधि तथा पोखरा स्थित कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।





