अमेरिकामा अनिश्चितकालीन संकटकाल

कोरोना संक्रमणको मुकाबिला गर्न अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिए । विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो ।

संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्नेछ । ट्रम्पले अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्ने जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोना भाइरसबाट १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भएका छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । १ सय २३ वटा देशमा कोरोना संक्रमित फेला परेका छन् ।