मन्त्री ढकालको अभिव्यक्तिप्रति नेविसंघको आपत्ति, हल्लाको पछि नलाग्न आग्रह

नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कोरोना भाइरस सम्बन्धी पछिल्लो अभिव्यक्ति विवादमा परेको छ । मन्त्री ढकालले केही दिन अघि कोरोना संक्रमित सबै नेपालीलाई क्वारेन्टाइनमा राख्न नसकिने र उपचारको जिम्मेवारी सरकारले नलिने बताएका थिए ।

उनको यो भनाईको सर्वस्त्र आलोचना भएको छ । यसैक्रममा नेपाला विद्यार्थी संघले पनि मन्त्री ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संघका कास्की अध्यक्ष विक्रमादित्य सिंह गिरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रीको भनाईप्रति आपत्ति जनाएका हुन् । उनले मन्त्री ढकालले गैरजिम्मेवार अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘कोरोना भाइरसले संसारलाई नै आतंकित गरेका बेला आम नेपाली जनतमा थप मानसिक डर उत्पन्न हुने गरी कम्युनिष्ट सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले संक्रमित सबैलाई क्वारेन्टाइर्नमा राख्न सकिदैन अर्थात उपचारको जिम्मेवारी सरकारले लिदैन भन्ने गैरजिम्मेवार अभिव्यक्तिप्रति ने.वि.संघ कास्की खेद प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई माहामारी घोषणा गरेको अवस्थमा संसारका शक्तिशाली मुलुकले मात्र कोरोनाको समाना गर्न सक्छन् भने गरिब र कमजोर मुलुकहरुमा यसले ठूलो विनास गर्न सक्ने धारणा विश्व स्वास्थ्य संगठनले व्यक्त गरिसकेको अवस्थामा सरकारका स्वास्थ्य मन्त्रीबाट आएको गैरजिम्मेवार अभिव्यक्तिका कारण तत्कालिन बाम गठबन्धनलाई मत हाल्ने आम नेपाली मतदाता मात्र होइनन्, नेकपा समर्थित राजनीतिककर्मीहरु समेत निराश र त्रसित भएका छन् ।’

कोरोना भाइरसका केही अनावश्यक हल्लाका कारण बजारमा हुने सक्ने कालोबजारीलाई स्वास्थ्य मन्त्रीको उक्त भनाइले थप बल पुग्ने देखिन आएको भन्दै नेविसंघले कालोबजारीलाई नियन्त्रण गर्न माग गरेको छ । साथै यस्ता हल्लाको पछि नलागि सचेतना अपनाई हतोत्साही नहुन नेविसंघले आग्रह गरेको छ ।