शिक्षामा अर्ब लगानी, परिणाम आएन : मेयर जिसी

स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा संबद्ध पदाधिकारीको क्षमता विकास गर्ने उद्देश्यले पोखरामा कार्यशाला शुरु भएको छ ।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले कार्यशाला आयोजना गरेको हो । कार्यशाला राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा संबद्ध पदाधिकारीका लागि लक्षित छ ।

३ दिने कार्यशालामा पोखरा महागरपालिकाका ३३ वडाका जनप्रतिनिधिका साथै शिक्षा संबद्ध पदाधिकारी सहभागी छन् ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सन् २०१४ देखि कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीमा पठन शिप विकास गर्ने उदेश्यसहित सुरु गरेको कार्यक्रम कास्कीका ३७२ विद्यालयमा संचालन गरिएको छ । यो कार्यक्रम कास्कीसंगै देशका १६ जिल्लामा संचालित छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शैक्षिक ढाँचालाइ परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले समय अनुसार शैक्षिक ढाँचा परिवर्तनसंगै गुणस्तर सुधार समेत आवश्यक रहेको स्पष्ट पारे ।

उनले भने, ‘पहिला जस्तो अवस्था अब छैन् प्रविधीको युग आइसक्यो प्रशस्त पूर्वधार छन् । अब पावरवाला चस्मा लगाएर एउटै ब्यक्ति एउटै विद्यालय धाउने प्रवृति हटाउनुपर्छ ।’ रोजगारीलाई ध्यान दिने शिक्षा अबको आवश्यकता रहेको उनले बताए ।

शिक्षकहरूमा म सिनियर हुँ भनि काम नगर्ने जमाना अब गएको भन्दै मेयर जिसीले जसले राम्रो काम गर्छ विद्यालय संचालनको जिम्मेवारी उसैलाई दिने बताए ।

धेरै विद्यालय पूर्वधारमा सम्पन्न भए पनि विद्यालय शिक्षकको शैक्षिक सुधार हुन नसकेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरे ।

मेयर जिसीले आफ्नै भाषा सिकाउनका लागि विदेशीको सहयोग लिनु लजास्पद भएको बताए । उनले भने, ‘हाम्रो मातृभाषाको अवस्था यस्तो छ, अरु के होला ।’

‘हामी हाम्रो मातृभाषा पनि राम्रोसंग जान्दैनौं, लोप हुने अवस्थामा पुगेको छ । संरक्षण गर्न आवश्यक छ’, मेयर जिसीले भने ।

महानगरले शिक्षामा अर्ब लगानी गरे पनि सोचे अनुसारको परिणाम नआएको उनले बताए । महानगरमा १७ सय शिक्षक रहेको बताउँदै उनले सबैले दायित्व पूरा गरे शैक्षिकस्तर माथि उठाउन गाह्रो नहुने स्पष्ट पारे ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले गुणस्तरीय शिक्षा समृद्धिको जग रहेको बताए । उनले यस्तो कार्यक्रममा सहयोगका लागि सधैंभरि विदेशीको मुख ताक्न नहुने भन्दै स्थानीय तहले शिक्षा क्षेत्रको विकासका लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

युएसएडका प्रमुख जोडी फेन्सिकाले अमेरिकी जनताको सहयोगले नेपालका बालबालिका शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा गर्व लागको उनले बताए ।

सबैका लागि आआफ्नो मातृभाषा महत्वपूर्ण हुने भएकाले बालबालिकाको भाषा सुधारमा केन्द्रित रहि आफूहरूले काम गरेको र काममा उल्लेखनीय सुधार हँुदै गएको अध्यक्ष क्षेत्रीले दावी गरे ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले मातृभाषामा शिक्षा आवश्यक भएको भन्दै विद्यालयको कम्पाउण्ड भित्र बालबालिकाको भविष्यप्रति शिक्षकको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रम संयोजक कृष्ण खतिवडाले कार्यक्रमको मध्यावधि मूल्याङ्कन प्रतिवेदन अनुसार शुद्धसंग लेख्नेसगै अर्थबोध गर्ने विद्यार्थीको संख्यामा धेरै बृद्धि भएकोले कार्यक्रम अपेक्षकृत नतिजा नजिक पुगेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत एवं शैक्षिक महाशाखा प्रमुख बद्रिनाथ सुवेदी, शिक्षा विकास समन्वय इकाइ कास्की फोकल पर्सन बबीता शर्मा, कार्यक्रम संयोजक नारायण कृष्ण श्रेष्ठ लगायतले बोलेका थिए ।