होटल रेष्टुरेण्ट संचालकलाई खाद्य स्वच्छता तालिम

विभिन्न क्षेत्रमा खाद्य स्वच्छता बारे सचेतना फैलाउने अभियान अन्तर्गत होटल तथा रेष्टुरेण्ट संचालकहरुलाई तालिम दिइएको छ ।

मंगलबार पोखरामा एक कार्यक्रमको आयोजना गरि सहभागीहरुलाई तालिम दिइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराको आयोजनामा तथा सिटी रेवानको समन्वयमा सरोकारवालाहरुका वीच तालिम तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायीले उपभोक्तालाई सेवा र उत्पादन प्रदान गर्दा अपनाउनु पर्ने विविध उपायहरुका बारेमा चर्चा गरिएको थियो । सो अवसरमा खाद्य पद्धार्थमा स्वच्छता र गुणस्तर कायम गर्ने बारेमा विद्यमान कानुनी व्यवस्थाका बारेमा छलफल भएको थियो ।

अन्तरक्रियामा सो व्यवसायमा संलग्न व्यवसायीहरुले अहिले भोग्नु परेका विभिन्न समस्याका बारेमा पनि चर्चा गरेका थिए । सर्वसाधरण उपभोक्ताले स्वच्छ र गुणस्तरीय खाद्य सामग्री उपभोग गर्न पाउने वातावरण निर्माण हुनु पर्नेमा पनि जोड दिइएको थियो ।

कार्यक्रमका प्रमूख अतिथि उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले यस्ता तालिम तथा अन्तरक्रियाबाट विभिन्न प्राविधिक कुरा जान्न पनि सहयोग पुग्ने बताए ।

कोइरालाले व्यवसाय प्रवद्र्धन गर्नका लागि यस्ता कार्यक्रम उपयोगी हुने भएकाले समसय समयमा यसको आयोजना हुनु पर्नेमा जोड दिए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमूख प्रशान्त पोखरेलले विभिन्न पचास बुँदा समेटिएको कार्यपत्र पेश गरेका थिए ।

कार्यपत्रमा होटल तथा रेष्टुरेण्ट व्यवसाय संचालन गर्दा सरसफाइ, खाद्य सुरक्षा र गुणस्तर, तालिम सहित विभिन्न कानुनी व्यवस्थाहरु समेटिएको छ । सो अवसरमा डिभिजन कार्यालयले होटल तथा रेष्टुरेन्टको गुणस्तरका आधारमा स्तर निर्धारण समेत गरिरहेको जानकारी दिइएको थियो ।

सो कार्यक्रममा व्यवसायी केपी शर्मा पाध्या, सिटी रेवानका अध्यक्ष दिपक तिमिल्सिना र व्यवसायी लगायतले बोलेका थिए । तालिममा सहभागीलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।