दिल्ली हिंसा भड्कियो, १३ को मृत्यु, ५६ प्रहरी घाइते

 दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, ५६ प्रहरी घाइते 

दिल्लीको उत्तरपूर्वी इलाकामा भएको हिंसामा मर्नेको संख्या १३ पुगेको छ । सोमबार र मंगलबा भएको हिंसामा सयभन्दा बढी मानिसहरु घाइते भएका छन् । मंगलबार भारतीय स्वास्थ्यमन्त्री हर्षबर्धन घाइते उपचार भइरहेको अस्पताल पुगेका थिए ।

अस्पतालमा घाइतेलाई भेटेपछि उनले भने, “अहिलेसम्म मर्नेको संख्या १३ पुगेको छ । सोमबार ८१ जना घाइतेलाई अस्पताल ल्याएको थियो भने मंगलबार ६९ जना घाइतेलाई उपचारका लागि ल्याइएको छ । जसमध्ये केहीलाई उपचार पछि घर पठाइएको छ । उपचाररत घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।” 

उत्तर-पूर्वी क्षेत्रमा नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुलाई लखेटिएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म ५६ प्रहरी घाइते भएका छन् । उक्त क्षेत्रमा धारा १४४ (दुई वा तीनजनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा हुन नपाउने) प्रावधान लागु गरिएको छ । – बीबीसी