नेविसंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा (विज्ञप्तिसहित)

- पृथ्वीनारायण क्याम्पस घटना

नेपाल विद्यार्थी संघले अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेको छ । शैक्षिक हड्तालका कार्यक्रम बिहीबरदेखि हुनेछ । नेविसंघले बुधबार बिहान पृथ्वीनारायण क्याम्पसमा चक्का जाम गर्दै विरोध गर्ने र दिउसो पोखरामा कुनै पनि सरकारी गाडी चल्न नदिने जनाएको छ ।

नेविसंघ पिएन क्याम्पस इकाइ सभापति दीपक शर्मा वाग्लेले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । नेविसंघले पिएन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको सांगठानिक मतभेदका कारण शैक्षिक गतिविधिमा असहज परिस्थिति सृजना भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘यसै सन्दर्भलाई लिएर आज वर्तमान भ्रष्ट ओली सरकारको निर्देशनमा प्रशासनले पूर्वाग्रही ढंगबाट हाम्रा केही निर्दोष विद्यार्थी नेता सार्थीहरूलाई किटानी जाहेरी दिई सुनियोजित ढंगले फँसाउने कुटिल प्रपञ्च रचिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सांगठनिक विवाद मिलाउने क्याम्पस प्रमुखको पहलमा भएको वार्तामा सहभागी हुन जानेक्रममा नेविसंघका नेता एवं स्ववियु सभापति पदका उम्मेदवार रेशम हमाल (राजेश) लाई क्याम्पस हाता भित्रैबाट प्रशासनको मिलेमतोमा पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेविसंघले आफ्ना नेताहरूमाथि लगाइएको झुठा र कपोलकल्पित मुद्धा खारेजी र विनाशर्त उनीहरूको तत्काल रिहाइको माग राखी आन्दोलन घोषणा गरेको जनाएको छ । साथै नेविसंघले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कडा कार्वाही गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले केकमा नेपालको नक्सा बनाएर काटेकोमा माफी माग्नुपर्ने माग समेत गरेको छ ।

यिनै मुद्धा उठाउँदै नेविसंघले मंगलबार पोखरामा चक्काजाम, टायर बालेर प्रदर्शन गरेको थियो । आन्दोलनका मंगलबार क्रममा ५ वटा सरकारी गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र गण्डकी प्रदेशसभाको भवन अगाडि, पोखराको चिप्लेढुंगा र सभागृहचोकमा विरोध गर्दै चक्काजाम गरेको थिए भने पार्टी प्रशिक्षणका लागि पोखरा आएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका संघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए ।

पोखराको चिप्लेढुंगामा भएको विरोध प्रदर्शनका क्रममा नेपाली कांग्रेसको पार्टी कार्यालयभित्रै पसेर प्रहरीले नेविसंघका नेता कार्यकर्तामाथि लाठी प्रहार गरेर केही नेता कार्यकर्तालाई घाइते बनाएको नेविसंघले आरोप लगाएको छ । त्यसक्रममा नेविसंघका केही नेता पक्राउ समेत गरेका थिए ।

यसक्रममा पक्राउ परेका नेविसंघका सुमन विमली र विष्णु पहारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका निर्दोष विक्रम पौडेल र असिम सुवेदी रिहा भएको बताइन्छ ।

गत बिहीबार अनेरास्ववियु र नेविसंघबीचको झडपबाट घाईते भएका अनेरास्ववियुका विराट दवाडी र विशाल पन्तको उजुरीपछि नेविसंघका नेता राजेश हमाललाई प्रहरीले पक्राउ गरेपछि नेविसंघले आन्दोलन चर्काएको हो । यस विषयमा नेविसंघले क्याम्पस प्रमुखको राजीनामा माग गरेको छ ।

आनदोलनका क्रममा प्रहरीले नेविसंघका कार्यकर्ता सतिश बाँस्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, शौरव चापागाई, सुजी हितान मगर, युवराज पौडेल र अक्कल क्षेत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यसैगरी नेविसंघ केन्द्रीय समितिले पोखराको पिएन क्याम्पसको घटना र घटनापश्चात् भएको परिस्थितिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

This image has an empty alt attribute; its file name is prithivi.jpg

संघका सभापति राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै पिएन क्याम्पस घटनामा आफ्ना निर्दोष नेताहरू पक्राउ गरेको भन्दै उनीहरूलाई विनाशर्त रिहाईको माग गरेका छन् । साथै उनले पक्राउ परेका नेताहरू विनाशर्त तत्काल रिहाई नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

Image may contain: text

यता, पार्टी कार्यालय प्रवेश गरी विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज र गिरफ्तार गरेकोमा नेपाली कांग्रेस केन्द्रीय समितिले भत्र्सना गरेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रममा सोमबार निर्दोष विक्रम पौडेल र असिम सुवेदी लगायतलाई पनि गिरफ्तार गरेको घटनाप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा भनिएको छ ,‘शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको छ । यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । घाइते विद्यार्थी नेताहरुको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाई गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’