चीनबाट फैलिएको कोराना भाइरसको संक्रमण दक्षिण कोरियासम्म पुगेपछि त्यहाँस्थित नेपाली राजदूतावासले नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ।
आइतबारसम्म दक्षिण कोरियामा कोभिड-१९ को संक्रमण हुनेको संख्या ५ सय नाघेपछि राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको हो ।
राजदूतावासले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड-१९ को संक्रमण रहेको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई चेकजाँच गराउन आग्रह गरेको छ।
साथै, अवैधानिक रूपमै त्यहाँ बसोबास गर्दै आएकाहरूलाई पनि चेकजाँच गराउन आग्रह गरेको छ, भने उनीहरूलाई उपचारका क्रममा पक्राउ नगर्ने तथा स्वदेश नफर्काउने समेत दूतावासले बताएको छ।
राजदूतावासले आफ्नो वेबसाइटमार्फत् यस संक्रमणबाट बच्ने उपाय समेत प्रचार गरेको जनाएको छ।हाल दक्षिण कोरियामा कोभिड-१९ को कारण ५ जानाको मृत्यु भइसकेको छ भने ५५६ जनामा संक्रमण फैलिएको छ ।
आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ।
मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ।
चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन्।




