चीनबाट उद्धार गरिएका नागरिकमाथि युक्रेनमा ढुंगा प्रहार

कोरोनाभाइरसले आक्रान्त बनेको देश चीनबाट उद्धार गरेर फर्काइएका युक्रेनी नागरिकमाथि स्वदेशमै ढुंगा प्रहार भएको छ ।

४५ युक्रेनी नागरिक र २७ विदेशी नागरिकलाई युक्रेनमा चीनको वुहान शहरबाट फर्काइएको थियो।

उनीहरुलाई पोल्टाभिया क्षेत्रको नोभी सान्जेरी अस्पतालमा १४ दिन क्वारेन्टाइनमा राख्न बसमा लगिँदै गर्दा बिहीबार राति ढुंगा आक्रमण भएको बीबीसीले जनाएको छ।

उद्धार गरिएका कसैलाई पनि कोरोना संक्रमण नरहेको युक्रेनका स्वास्थ्यमन्त्रीले जनाएका छन् । यद्यपि, सहरका बासिन्दाहरू भाइरस फैलने भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

यस घटनाको निन्दा गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीलाई कोरोनाबाट संक्रमितलाई रिस नभएर सहानुभूति प्रकट गर्न आग्रह गरेका छन्।