आर्थिक नेता ( छोटो कथा )

कविराज कुनै पाटिका अपहेलित दुख पाएका तथा जेल परेका कार्यकर्ता थिए ।उनी नौ कक्षा पढदै गर्दा राजनीतिमा होमिएका थिए । दिनभरि झिंगा भन्केको मनभोगलाई पण्डितले गहुत छर्केर शुद्ध पार्न खोजे जस्तै गरि उनी पाटिको काममा लत्रिरहेका थिए । प्रवेशिका परीक्षा प्राइभेट रुपमा पास गर्ने धोकाले उमेर छिप्पिए पनि उमानाथ नाम गरेका शिक्षकसंग टिउसन पढदै थिए । उता उमानाथ विद्यालयमा अर्थशास्त्र विषय पढाउथे । पाटिको जोडबलले प्रधानाध्यापकमा फडको मार्ने दाउमा उनी थिए । यिनीहरू दुबै जना पाटिको नव प्रवेशि जल्दाबल्दा नेताबाट प्रशिक्षित हुन प्रतिक्षारत थिए । यो फुर्सदको समयमा कविरामले उमानाथलाई एउटा विषयगत प्रश्न सोधे – आर्थिक वस्तु भनेको के हो ? उमानाथले आर्थिक र गैर आर्थिक वस्तुको परिभाषा दिए । उनले उदारण दिई प्रष्टाउदै भने – वस्तु तीन प्रकारले (रुप फेरेर, ठाँउ सारेर र समय अन्तर पारेर ) बन्दछ । वनमा फालिएको काठको मुडालाई चिरेर चिल्लो पारेर रुप फेरि फर्निचर वस्तु बनाइन्छ । कुनै ठाँउको रुखो रातो माटो चाहिएको अर्को ठाँउमा पु-याउदा गेरुमा रुपान्तरण भै अन्नसंग साटिन्छ ।सिमेन्ट नहुदा सम्म बालुवाको कुनै मूल्य थिएन । तर आज बालुवामा उपयोगिता समयले थप्यो र वस्तु बन्यो ।

नेताको आगवन पछि अरु धेरै मानिस जस्तै ती दुबै जना हलभित्र पसे । नेताले जोसिलो पाराले धाराप्रवाह रुपमा भन्दै गए – हालको वर्ग बिभाजनको रुप भेरिएको छ । समयको माग अनुसार म यो पाटिमा प्रवेश गरेको छु । मैले पाटि खोज्नु भन्दा पनि पाटिले मलाई खोज्यो । मैले पाटिलाई दान होइन योगदान गरेको छु । कुनै समय मलाई गुण्डा दलाल बिचौलीया जे भने पनि समयले मलाई आफै यो स्थानसम्म ल्याइ पु-यायो । मैले गाउँ ठाउँ नछोडेको भए त्यहिको घाँस हुन्थे —आदि ।

प्रशिक्षण सकिए पछि बाहिर निस्कदै गर्दा कविरामले उमानाथलाई सुस्तेरी भने – आर्थिक वस्तु र आर्थिक नेता उस्ता उस्तै मिल्दो रहेछ । यी नेता पाटिले रुप नफेरेको भए वनमा फालिएको मुडा, इमानदारीसाथ पेसा गरेको भए रुखो रातो माटो र पाटिले सिद्धान्त अनुरुप व्यवहार गरेको भए काम नलाग्ने बालुवा जस्तै हुन्थे । उनको कुरामा उमानाथ संतुष्ट हुँदै भने – प्रतिभावान् विद्यार्थीले यस्तै जीवन्त र समसामयिक उदारणव्दारा विषयवस्तुको गहिराइमा पुग्दछन् र विषयवस्तुलाई पचाएर सम्झने गर्दछन् । त्यसपछि तिनीहरू नयाँ वस्तु पाएर तुरुन्त गुमाए जस्तै गरि रुन्चे हाँसो हाँस्दै एक अर्कोको मुखमा हेराहेर गरे ।