भारतको लखनउमा अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ ।
आइतबार बिहान आफ्ना भाइसँगै बिहानको पैदल यात्रा गरिरहेको समयमा बच्चनको लखनउको पाश इलाका हजरतगंजमा गोली हानी हत्या भएको हो । गोली प्रहारबाट रंजितका भाइ समेत घाइते भएका छन् ।
रंजीत बच्चन आइतबार बिहान ६ बजे आफ्ना भाइसँग बिहानको पैदल यात्रामा बाहिर निस्किएका थिए ।हजरतगंज क्षेत्रको सीडीआरआईको नजिकै मोटरसाइकलमा सवार व्यक्तिहरूको गोली प्रहारबाट टाउकोमा गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको र उद्दार गर्न आएका उनका भाइलाई पनि गोली लागेको लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोड़ाले जनाएका छन् ।
रंजीत बच्चनको हत्या भएको क्षेत्र लखनउ शहरको अति महत्त्वपूर्ण क्षेत्र हो । यस क्षेत्रमा विधान सभा, सचिवालय र सबै सरकारी कार्यालयहरू बाहेक अधिकारी र मन्त्रीहरूको बस्ने ठाउँ पनि छ ।
अहिल अपराध शाखाका आठ टोली घटनाको अनुसन्धानमा खटिसकेको प्रहरीले जनाएको छ ।




