नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले राज्यले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने बताएका छन् ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित २९ औं वार्षिक साधारणसभामा सभापति केसीले कार्यरत कर्मचारीलाई व्यवस्थापनले समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।
उनले खानेपानी संस्थानमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई विभेद भए सिंगो कांग्रेस चुप लागेर नबस्ने समेत चेतावनी दिए । खानेपानी संस्थान लगायतका सरकारी निकाय उपभोक्ता मैत्री बन्नुपर्ने भन्दै उनले कर्मचारी पनि जनताको सेवामा तल्लिन हुनुपर्ने खाँचो औंल्याए ।
सभापति केसीले कर्मचारी व्यवस्थापन, कार्यालय स्थानान्तरण, ऐन तथा विनियमावली लेखनजस्ता विषयमा छलफल गरेर अघि बढ्न सुझाव दिए ।
संस्थानमा कार्यरत कर्मचारीलाई पाखा लगाउँदै आस्थाका आधारमा श्रमिकलाई हेरिने परिपाटी संस्थानमा हिजादेखि नै भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
नेता केसीले हचुवाको भरमा गरिने हरेक निर्णयले आघात पुग्ने भन्दै संवेदनशील क्षेत्र खानेपानीमा कसैले पनि राजनीति गर्न नहुने स्पष्ट पारे । संस्थानको संरक्षणमा जोड दिँदै उनले कर्मचारीका जायज मागमा कांग्रेस दृढ भएर उभिने बताए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान सञ्चालक समितिका निवर्तमान अध्यक्ष डा. परमेश्वर पोखरेलले कांग्रेस सरकारमा हुँदा कर्मचारीको सेवामा धोका नदिएको बताए ।
पोखरेलले आफू अध्यक्ष रहँदा संस्थान नीति, कर्मचारीलाई दुःख तथा कार्यालयको अहित कहिल्यै नगरेको बताए । उनले कर्मचारीको रोजगारमाथि कसैले खेलवाड गर्न नहुने भन्दै कर्मचारी संघलाई अगुवाई गर्न सुझाव दिए ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले संस्थानमा यतिका वर्षसम्म करार र ज्यालादारीमा मजदुर रहनु व्यवस्थापनको कमजोरी भएको बताए ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमलाले समस्या समाधानमा संस्थानमा क्रियाशील युनियनको एकतामा जोड दिए ।
धमलाले संस्थानमा लामो समय करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई स्थायी गरिनुको विकल्प नभएको भन्दै रोजगारीको ग्यारेन्टी गरिनुपर्नेमा जोड दिए ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघका पूर्व केन्द्रीय अध्यक्ष उदयराज अधिकारीले कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन खोज्नु नकारात्मक भाव भएको बताए । अधिकारीले संस्थानको भविष्यसँग खेलवाड गर्न नहुने भन्दै समस्यामा सबै कर्मचारी एकहुन आग्रह गरे ।
नेपाल खानेपानी संस्थान कर्मचारी संगठन पोखराका प्रतिनिधि झलकराम अधिकारीले संघको इतिहाँस मिलेरै जाने आफूले पाएको भन्दै कसैले जागिर खाँदा कसैले रुँदै जानेस्थिति आउन नहुने धारणा राखे ।
संघका इकाई अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सहसचिव भोजराज चापागाइँ, नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्की, प्रस्तावित विजयपुर शाखाका प्रमुख राकेश गोइत, संस्थान हेमजा शाखा प्रमुख दिनेश्वरप्रसाद यादव, लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख दिपेश्वर मण्डल लगायतले बोलेका थिए ।






