पोखराको ग्लोवल कलिजियटले विविध कार्यक्रमका साथ आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार आयोजित वार्षिकोत्सवकै अवसरमा रजत महोत्सव समेत शुभारम्भ गरेको छ ।
कार्यक्रममा गायक रामभक्त जोजिजू, बाल गायक उत्प्रेम जोजिजूका साथै विद्यार्थीहरूले संगीतिक तथा सांस्कृतिक प्रस्तुति राखेका थिए ।
उक्त अवसरमा विद्यालयमा १० वर्ष सेवा गरेका २१ शिक्षक, कर्मचारीका साथै उत्कृष्ट नतिजा हासिल गर्ने ४ विद्यार्थीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा उपप्राचार्य वेदप्रसाद शर्मा, शिक्षकहरू वसन्ती बस्नेत, शोभा क्षेत्री, भलबहादुर क्षेत्री, प्रकाश पराजुली, लक्ष्मी परियार, पवित्रा केसी, सुरक्षा श्रेष्ठ, सोनिका गौचन, वविता पालिखे, शुष्मा थापा, रेनु गुरुङ छन् ।
यसैगरी पूर्व शिक्षक प्रेम शर्मा, रेनुका थापा, सविता पौडेल र धनबहादुर गुरुङलाई पनि कार्यक्रममा सम्मान गरियो ।

यस्तै कर्मचारीहरू कृष्णमाया गुरुङ, चन्द्रबहादुर थापा सपना खाँड र अञ्जना श्रेष्ठसमेत सम्मानित भए । साथै अघिल्ला वर्षमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू मनोज नेपाली, इशान ढकाल, दीक्षिका जिसी र सोचन थापा मगर पनि कार्यक्रममा सम्मानित भए ।
ग्लोवल कलिजियट २०५२ सालमा स्थापित भएको विद्यालय हो । विद्यालयमा शुरुको वर्षमै ५ सय १२ जना विद्यार्थी भर्ना भएका थिए ।
कक्षा ८ बाट शुरुआत गरेको विद्यालयले त्यसको ३ वर्ष अर्थात २०५५ सालमा ३० जना विद्यार्थीले पहिलो एसएलसी दिएका थिए, जसमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए ।
यसैगरी २०६३ बाट कक्षा ११ शुरु गरि व्यवस्थापन र २०६४ बाट विज्ञान संकाय सञ्चालन गरेको थियो । विद्यालयले छोटो समयमै महत्वपूर्ण फड्को मारेको प्राचार्य बाबुराम पन्त बताउँछन् ।
ग्लोवल अब कलेज संचालन गर्न तयार छ तर स्वीकृति कुरेर बसिरहेको प्राचार्य बाबुराम पन्त बताउँछन् । ‘विद्यालय सबै संरचनाले सुविधा सम्पन्न छ, अब संख्यामा भन्दा पनि अझ गुणस्तरीय शिक्षामा ध्यान केन्द्रित गर्छौं’, उनी भन्छन् ।
उनका अनुसार विद्यालयमा हाल १ हजार ९ सय विद्यार्थी अध्ययनरत छन् । १ हजार ९ सय विद्यार्थीलाई पढाउन १ सय ३८ जना शिक्षकशिक्षिका छन् ।
कक्षा १० सम्म प्रत्येक कक्षामा ३/३, ११ र १२ मा ६/६ वटा सेक्सन रहेको प्राचार्य पन्तले बताए । ग्लोवलमा अध्ययन गर्न चाहना राखेर आवेदन दिने विद्यार्थी संख्या हजारौं हुने उनले बताए । विद्यालयमा सुविधासम्पन्न पुस्तकालय, कम्प्युटर ल्याव, साइन्स ल्यावका साथै उच्चस्तरीय वेकरी समेत छ ।
रजत महोत्सव यसरी मनाउँदै
विद्यालयले यस वर्ष विविध कार्यक्रम गरेर रजत महोत्सव मनाउने भएको छ । यस महोत्सवका लागि विद्यालयका उपप्राचार्य वेदप्रसाद शर्माको मूल संयोजकत्वमा विभिन्न कमिटी तयार गरिएको छ ।
रक्तदान कार्यक्रम, सामुदायिक विद्यालय र विद्यार्थीलाई सहयोग, अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, सामुदायिक विद्यालयका शिक्षकहरूलाई तालिम लगायतका कार्यक्रम यस वर्ष गरिने प्राचार्य पन्तले जानकारी दिए ।
भावी रणनीति
पन्तका अनुसार विद्यालयमै विविए सञ्चालन गर्ने प्रयास गरेको वर्षौं भैसक्यो । तर राज्यका निकायको सम्बन्धन करेर बस्नु परेको छ ।
ग्लोवलले कलेज सञ्चालन गर्नका लागि आवेदन दिएको वर्षौं वित्दा पनि सम्बन्धन पाउन नसक्नु विडम्वना भएको भन्दै उनले अब अन्तर्राष्ट्रिय कलेजका सम्बन्धन लिएर भए पनि कलेज सञ्चालन गर्ने चेतावनी दिए ।
विद्यार्थीलाई निरन्तर मूल्यांकन प्रणालीमा आधारित शिक्षा प्रदान गर्ने, शिक्षकहरूलाई दूरगामी र भरपर्दो प्रशिक्षण दिने पन्तले बताए ।
आफ्नै परिवेशको शिक्षा नीति लागू गर्छौं : मन्त्री गुरुङ
रजत महोत्सव शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशमा आर्थिक मामिला योजना मन्त्री किरण गुरुङले गण्डकी विश्वविद्यालय स्थापना गरेर आफ्नै परिवेशको शिक्षा नीति लागू गर्न प्रदेश सरकार लागिरहेको बताए ।
विश्वविद्यालयको शिक्षा नीति अन्तर्राष्ट्रिय मापदण्डको हुने भन्दै उनले शिक्षा प्रणाली पनि व्यवसायिक र वैज्ञानिक हुने समेत स्पष्ट पारे ।

मन्त्री गुरुङले माध्यमिक तहसम्मको शिक्षालाई संघीय सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्न अझै आनाकानी गरिरहेको आरोप लगाए ।
मन्त्री गुरुङले राज्यको शिक्षा नीति र प्रणाली एउटै रहेकोले राज्यले नीजि र सामुदायिक विद्यालयलाई फरक दृष्टिकोणले हेर्न नहुने बताए ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्ति पाउने तर निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले नपाउने भन्ने चर्चा सम्बन्धमा मन्त्री गुरुङले भने, ‘यो हल्ला मात्रै हो । यस्तो कदापि हुन सक्दैन । सरकारी स्कूल र बोर्डिङ स्कूलमा पढ्दैमा पक्षपात गर्न मिल्दैन ।’
निजी विद्यनलयमा पढ्न धनी र सरकारी विद्यालयमा पढ्ने विद्यार्थी गरिवको छोराछोरी हुन् भन्ने भ्रम अन्त्य गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘सरकारी विद्यालयमा धनीका छोराछोरी पनि पढेका छन् । मुख्य कुरा सोंच परिवर्तन हुन आवश्यक छ ।’

मुलुक समृद्धि बनाउने ढंगले ने अवको शिक्षा नीति बन्नुपर्नेमा मन्त्री गुरुङले जोड दिए । मुलु समृद्धिका लागि नयाँ पिंढीलाई उपयुक्त शिक्षा दिनुपर्ने भन्दै उनले यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको स्पष्ट पारे ।
‘अवको शिक्षा व्यवहारिक हुन जरुरी छ’, मन्त्री गुरुङले भने, ‘विद्यार्थीले पाएको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने बनाउनुपर्छ । तबमात्र मुलुक समृद्धितर्फ जान्छ ।’
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. बुद्धिबहादुर थापाले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिनुपर्ने खाँचो औंल्याए ।
उनले अन्य क्षेत्रको तुलनामा शिक्षा र स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट निकै कम भएको भन्दै राज्यले अझै पनि यस क्षेत्रलाई महत्व नदिएको आभाष भएको बताए ।
उनले विद्यालय–विद्यार्थी–अभिभावक बीचको त्रिकोणात्मक सम्बन्धले मात्रै शिक्षा क्षेत्रको विकास हुने भन्दै यसमा सबै सजक बन्नुपर्नेमा जोड दिए । उनले आफूले पढेको विद्यालय, पढाएका गुरु र पढेको क्षेत्रलाई कदापि भुल्न नहुने समेत बताए ।
विद्यालयका प्राचार्य बाबुराम पन्तले निजी विद्यालयप्रति राज्यको दृष्टिकोण अझै परिवर्तन हुन नसक्नु विडम्वना भएको बताए । निजी विद्यालयले सरकारकै अनुमतिमा, सरकारले नै बनाउको शिक्षा नीति लागू गरेका हुनेले फरक दृष्टिकोण राख्न आवश्यक नभएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक डा. अर्जुन आचार्य, विद्यालयका उपप्राचार्य वेदप्रसाद शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रम सञ्चालन शिक्षकद्वय नेपाल प्रकाश अधिकारी, वसन्ती बाँस्तोलाका साथै विद्यार्थीहरू समुन्द्र क्षेत्री, ममता कुशवाह र आयुष्मा भण्डारीले गरेका थिए ।







