अबुधाबी दुर्घटना अपडेट : ३ नेपालीको मृत्यु, १४ घाइते

युएईको  आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको छ भने १४ नेपाली घाइते भएको पुष्टि भएको ।

एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान गुडिरहेको लरीमा ठोक्किएर अल रहा भन्ने स्थानमा दुर्घटना हुँदा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको पुष्टि भएको हो ।

ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना भने खुल्न बाँकी छ ।

दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।

घाइतेको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको खबरपाएपछि आबुधाबीस्थित नेपाली दूतावासका प्रतिनिधी कामदार उपचाररत अस्पताल पुगेका थिए । दूतावासका तर्फबाट राजदुत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी ९पिआरओ० इरफान आलम अस्पताल पुगेका हुन् ।

घाइतेहरूको उपचारमा कम्पनीले सहयोग गरिरहेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताएका छन् ।