अमन स्मृति फुटवल: एम-१२ को शानदार जित

पोखरामा जारी तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार ४ खेल भएका छन् ।

भ्याली स्पोर्ट्स क्लब पोखराद्वारा आयोजित प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा बिटी एफसीले नयाँगाउँ एफसीलाइ ४–० को फराकिलो गोल अनतरले पाखा लगाउँदै जित हात पारेको छ। बिटिको जितमा सुदिप पाठक नायक बने । बिटिका लागि ४ गोलनै सुदिपले गरे ।

दोस्रो खेलमा गार्डेन एफसीले ओ.ड्ब्लु.सिलाइ ४–० कै फराकिलो गोल अन्तरले पाखा लगाउँदै आफ्नो पहिलो जित दर्ता गराएको छ । गार्डेनको जितमा ध्रुव घिमिरेले ह्याट्रिक गर्दा मुकेश श्रेष्ठले एक गोल गरे ।

यस्तै तेस्रो खेलमा एम–१२ का अभिनाष तामाङ चम्किँदा दिव्यज्योती एफसीको लज्जास्पद हार व्यहोरेको छ । एम–१२ ले दिव्यज्योतिलाई ६–० को निकै फराकिलो गोल अन्तरले पाखा लगायो । अभिनाषले दोहोरो ह्याट्रिक गरे ।

बुधबारको अन्तिम खेलमा एलजि एसोसिएसनले रन्जन मेमोरियललाइ २–१ को गोल अन्तरले पाखा लगायो । अत्यन्तै प्रतिस्पर्धात्मक अन्तिम खेलमा एलजीका लागि अजित गुरुङले २ गोल गर्दै टिमलाइ जित दिलाए । रन्जनका लागि अशोक थापाले १ गोल गरे ।

प्रतियोगितामा इन्टेक ०६ विग्रेड अफ गोर्खाज युके, आयोजक र अन्य क्लब गरि १८ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक संयोजक विश्व तण्डुकरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद रू एक लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट खेलाडीले १२ हजार र सर्वाधिक गोलकर्ताले ७ हजार रुपैयाँ पाउने छन् भने म्यान अफ दि म्याचले मोबाइल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा क्वाटरफाइनल खेलबाट म्यान अफ दि म्याच समेत घोषित गरिने छ । प्रतियोगिता अन्तरगत बिहिवार (आज) प्रीक्वाटरफाइनलका सम्पुर्ण खेल समपन्न हुने संयोजक तण्डुकरले जानकारी दिए ।