माघे संक्रान्तिमा कविताको स्वाद

मेरो एक मुठ्ठीको मुटुलाई
मुठ्ठीमा बोकेर
कहिले तारेभिरको उकालो चढिरहेँ
कहिले ओरालो झरिरहें
….मेरो मुटु
मेरो देशको माटोले बनेको छ ।

आफ्नो मुटुलाई माटोसँग जोडेर लेखिएको मुटु कविता सुनाउँदै उनी अगाडि बढे । मञ्चमा १ मात्र कुर्सी थियो, त्यो पनि खाली । कविको आवाज सुनिन्छ तर कवि अगाडि देखिँदैनन् ।

माघे सङ्क्रान्तिका परिकार घिउ, चाकु र तरुल खाएर कार्यक्रम हलमा प्रवेश गरेका दर्शक तथा स्रोता एकछिन अलमलमा परे । पुछारसिटबाट उठेर कविता सुनाउँदै अगाडि पुगेका उनलार्ई मञ्चनिर पुग्नै लाग्दा साहित्यकार सरूभक्तले छेके । ढाका टोपीमा सजिएका उनलाई हातमा रहेको सयपत्रीको माला लगाइदिएर सरूभक्तले बधाई दिँदै मञ्चमा बसाए ।

उनी मञ्चमा बस्नासाथ कार्यक्रम सञ्चालकले उनको परिचयका लागि साहित्यकार दीपक समीपलाई जिम्मा लगाए । मञ्चमा बस्नासाथ केही भावुक बनेका उनले प्रारम्भमा उपस्थित दर्शकलाई धन्यवाद दिए । करिब २ दशक अनवरत साहित्यिक गतिविधिमा सक्रिय रहेका उनले त्यसपछि कविता सुनाउन थाले ।

यो दृश्य हो ‘पुछारसिटे अभियान’ले आयोजना गरेको ‘एकल कवितावाचन’को । ‘घिउ, चाकु र तरुलसँग कविता’ नाम दिइएको कार्यक्रममा प्रस्तुत भएका थिए कवि लक्ष्मण थापा । संस्थाले एकल वाचनको पाँचौँ शृङ्खलामा थापालाई उभ्याएको हो ।
ओ, मेरो युगकी अन्तिम राधिका !
म तिम्रो ओठको चास्नीमा डुबाउन चाहन्छु
प्रेमको सबैभन्दा पुरानो धून ।

घरिघरि यसरी प्रेमिल बनेका उनी अधिकांशतः मानव जीवनका उहापोहलाई आफ्ना कवितामा विषयका रूपमा समेट्थे । उनी वर्तमान नेतृत्वले इतिहासबाट हाम्रो गौरव गाथालाई स्वात्तै मेटाइदिएकोमा यसरी रोश प्रकट गर्छन् ः
हाम्रा छातीहरू कहिल्यै फराकिला हुन सकेनन्
हाम्रा तीघ्राहरू कहिल्यै दह्रा हुन सकेनन्
त्यसैले बाँसका टुप्पा झैँ निहुरिरहन्छन् हाम्रा स्वाभिमानहरू

वर्तमान पुस्ताका नेपालीको घट्दो उचाइलाई कविले यसरी प्रस्तुत गरिरहँदा उनमा भूपी शेरचनको शैली प्रष्ट झल्किन्थ्यो । बीच बीचमा आफूमा अग्रज कविको प्रभाव प्रष्ट भेटिने बताउँदै त्यसको स्पष्टीकरण दिँदा माहोल झनै रोचक बन्थ्यो ।

माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा दुई दशकभन्दा लामो समय बिताएका उनी कुशल व्यवस्थापकका रूपमा चिनिन्छन् । हजारौँ विद्यार्थीलाई ज्ञानको उज्यालो मार्गमा हिँडाएका यी कवि घरिघरि आफ्नो कलेज जीवनमा फर्कन्छन् र ऊ बेलाको पोस्टकार्ड युग सम्झँदै यसरी नोस्टाल्जिक बन्छन् ः
रात रातभर नसुती नसुती बनाएका
शुभकामनाका रंगिन कार्डहरू
तिमीले कतै पट्याएर
पुरानो पुस्तकमा राखेकी छ्यौ कि ?

थुप्रै बिम्ब र प्रतीकमा कविताका हरफलाई बुन्ने उनी कतै अत्यन्त सरल कविका रूपमा प्रस्तुत हुन्थे त कतै बिम्बको बोझले अलि क्लिष्ट लाग्थे ।
राग मेघमल्हारको सूरवर्षासँगै
बादल नाच्छ पहाडका थुम्का थुम्कामा
चुम्दै बुकीफूलका बोटहरू
र चिप्लेटी खेल्छ
चम्किलो कपोलको बुई चढेर ।

साहित्य सिर्जनामात्र होइन, उनी साहित्यिक पत्रकारितामा पनिसक्रिय छन् । ‘सिउँडी’ साहित्यिक पत्रिकाको सम्पादकका रूपमा थापाले लामो समय खर्चेका छन् । गजल, मुक्तक, कविता, कथामा निरन्तर उनको कलम चलिरहेको छ । उनका ‘मनको मूच्र्छना’ र ‘पलापला’ दुई गजल सङ्ग्रह र ‘पर्खालबाहिर’ नामक मुक्तक सङ्ग्रह प्रकाशित भइसकेका छन् भने कविता सङ्ग्रह प्रकाशोन्मुख छ ।

शिक्षा, समाजसेवा र साहित्यिक जीवनका विविध कुइँनेटालाई कविताका बीचबीचमा प्रस्तुत गरेका उनले कुल १४ वटा कविता प्रस्तुत गरे । उनका एक एक थान कवितावाचन गरेर कविद्वय सरस्वती श्रेष्ठ ‘सरू’ र अमृत सुवेदीले साथ दिए ।

देशप्रेम, सामाजिक विकृति, विद्रोह, मानवीय प्रेम र मानवतालाई कवितामा बुनेका उनका कविताका बारेमा साहित्यकार सरूभक्तले छोटो टिप्पणी गर्दै थापाको साहित्यसाधनाको प्रशंसा गरेका थिए । व्यस्त जीवनको अति व्यस्त समय साहित्यलाई दिएर थापाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको बताउँदै सरूभक्तले साहित्यिक यात्राको सफलताको कामना गरे ।

कार्यक्रम सञ्चालन कवि अल्पज्ञानीले गरेका थिए । संस्थाले असार पन्ध्रमा ‘दही चिउरासँग कविता’ र माघ १ गते ‘घिउ, चाकु र तरुलसँग कविता’ नाम दिएर वर्षमा २ पटक एकल कवितावाचन कार्यक्रम गर्दै आएको छ । साहित्य, शिक्षा र होमस्टे प्रबद्र्धनका क्षेत्रमा अग्रसर संस्थाले संस्कृतिसँग साहित्यलाई जोड्ने जमर्कोका साथ यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको संस्थाका अभियन्ता सुरज उपाध्याय बताउँछन् ।