
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् ।
बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले बुधबार पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै २ विकेट लिएका छन् ।
सन्दीपले ३ ओभर मात्र बलिङ गरे । उनले आफ्नो पहिलो ओभरमा बिना विकेट ३ रन खर्चिए भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट ४ रन दिए ।
सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र चौथो बलमा लगातार २ विकेट लिए । उनले तेस्रो बलमा क्रिस जोर्डन तथा चौथो बलमा झाई रिचर्डसनको विकेट लिएका हुन् ।
सो ओभरमा उनले कुनै रन खर्चिएनन् । सन्दीपले विपक्षी खेलाडीलाई छक्का र चौकासमेत प्रहार गर्न दिएनन् ।
यस यामको बिग ब्यासमा सन्दीपले हालसम्म नौ खेल खेल्दै ११ विकेट लिन सफल भएका छन् । सन्दीपको टोली मेलबर्न स्टार्सले टस हारेपछि शुरुआतमा बलिङ गर्न पुगेको हो ।
विपक्षी टोली पर्थले १३ दशमलव ५ ओभरमा सबै खेलाडी गुमाउँदै ८६ रन मात्र बनायो । सो खेलमा मेलबर्न ८ विकेटले विजयी भयो । बिग ब्यासमा सन्दीपको टोली मेलबर्न अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
मेलबर्नले हालसम्म १० खेलमध्ये ९ मा जित तथा १ मा हार बेहोर्दै १८ अङ्क बटुलेको छ । हालसम्म सन्दीपले चोटका कारण एउटा खेल मात्र गुमाएका छन् ।





