उडिरहेको विमानले इन्धन खसाल्दा १७ बालबालिका घाइते

उडिरहेको डेल्टा एयरलायन्सको विमानको इन्जिनमा प्राविधिक गडबडी देखिएपछि आकस्मिक अवतरण गर्न इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्।

विमानबाट इन्धन फ्याँक्ने बेलामा पार्क एभिन्यू प्राथमिक विद्यालयका १७ विद्यार्थीसहित २६ जना घाइते भएको रोयटर्सले जनाएको छ ।

घाइतेमध्ये ९ जनालाई अस्पताल लगिएको छ भने १७ जना सामान्य घाइते भएको जनाइएको छ । अमेरिकी अधिकारीहरुका अनुसार विमानबाट खाली गराइएको हवाई इन्धन विद्यालयको खेलमैदानमा खसेको थियो ।

उड्ययन कानूनअनुसार आपत्तकालिन अवस्थामा उडिरहेका विमानले इन्धन खसाल्न पाउँछन्, तर तोकिएको उचाईबाट निश्चित स्थानमा मात्रै इन्धन खसाल्न पाइन्छ। नियमअनुसार बसोबास नभएको अमेरिकाको नागरिक उड्डयन प्रशासनले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।