दृष्टिविहीन मञ्जुलाई उज्वल सहकारीको छात्रवृत्ति

पोखराको न्यूरोडस्थित उज्वल बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाको १२ औं स्थापना दिवसका अवसरमा सहकारीले मंगलबार छात्रवृत्ति प्रदान गरेको हो ।

पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत दृष्टिविहीन मञ्जु अधिकारीलार्ई छात्रवृत्ति वापत १५ हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।

सहकारीको कार्यालयमा एक कार्यक्रम आयोजना गरी सहकारीका अध्यक्ष योगराज पौडेलले विद्यार्थी अधिकारीलाई छात्रवृत्ति प्रदान गरे ।

विद्यार्थी अधिकारी जन्मदेखि नै पूर्णरुपमा दृष्टिबिहीन हुन् । निम्नवर्गीय परिवारमा जन्मिएकी उनले पोखराको अमरसिंह माविबाट प्रवेशिका र लेखनाथको जनप्रकाश माविबाट कक्षा १२ उत्तीर्ण गरेकी थिइन् ।

उनी हाल पृथ्वीनारायण क्याम्पसमा बिएड चौथो बर्षमा अध्ययनरत छिन् । उनको परिवारमा आमा मात्रै रहेको बताइन्छ । उनका बुबाको पहिले नै निधन भएको र दुई दिदीको विवाह भैसकेको छ । उक्त अवसरमा सहकारीले मञ्जुकी आमा रमादेवीलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा सहकारीका सल्लाहकार समितिका संयोजक एवं पूर्व अध्यक्ष अनिला श्रेष्ठले सहकारीले सामाजिक सेवाका क्षेत्रमा देखाएको अग्रसरता सराहनीय भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।

संस्थापक सल्लाहकार धुर्व श्रेष्ठले दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर सहकारीले पुण्य मिल्ने काम गरेको बताए ।

सहकारी संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तुमला श्रेष्ठ, सल्लाहकार हुतराज श्रेष्ठ, सचिव नरेन्द्र बाँस्तोला र विद्यार्थी मञ्जु अधिकारीलगायतले बोलेका थिए ।