ताजा समाचार

पौष २८ गते २०७६

इरानी एकमात्र ओलम्पिक विजेताद्वारा देश छोड्ने घोषणा

इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् । २१ वर्षीया किमियाले सामाजिक सन्जालमा लेखेर आफ्नो निर्णय सार्वजनिक गरेकी हुन् ।

उनले सन् २०१६ मा रियो ओलम्पिकमा ताइक्वान्दोमा कास्य पदक जित्दै इरानका लागि इतिहास रचेकी थिइन् । इरानमा प्रताडित लाखौं महिलाहरुमध्ये आफू पनि एक भएको बताउँदै उनले लेखेकी छन्, ‘म पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहँदैनँ ।’

किमिया हाल कहाँ छिन् भन्नेबारे आधिकारिक जानकारी छैन । तर इरानी मिडियाहरुले उनी तालिमको सिलसिलामा नेदरल्याण्डमा हुनसक्ने उल्लेख गरेका छन् ।

इरानी सैनिकले १७६ जना सवार युक्रेनको विमानलाई रकेट प्रहार गरेर खसालेको विरोधमा सरकारविरुद्ध प्रदर्शन भइरहेको बेला ओलम्पिक खेलाडीको यो भनाइ बाहिर आएको हो । इरानको आक्रमणबाट युक्रेनको विमान दुर्घटना हुँदा चालक दलका नौ सदस्यसहित १७६ जनाको मृत्यु भएको थियो ।

सुरुमा इरानले विमानमा आक्रमण नगरेको बताएको थियो । तर पछि सेना प्रमुखले अमेरिकाले प्रहार गरेको ड्रोन ठानेर भुलबस युक्रेनी विमानमा आक्रमण गरेको भन्दै गल्ती स्वीकारेका थिए । त्यसपछि सरकारी अधिकारीले झूठ बोलेको भन्दै इरानी जनता आन्दोलनमा उत्रिएका छन् ।

किमियाले आफ्नो पोस्टमा ‘म इरानमा सताइएका लाखौं महिलामध्येकी एक हूँ। म वर्षौदेखि देशका लागि खेलिरहेको छु। अधिकारीहरूले जे भने पनि मान्दै आइरहे, हर आदेशको पालना गरें तर उनीहरूका लागि हामी कुनै महत्व राख्दैनौं। हामी केवल उनीहरुका लागि प्रयोग हुने हतियार मात्र हौँ लेखेकी छन्।